दाङ । बजेट निर्माणमा आफूहरूलाई विभेद गरिएको लुम्बिनी प्रदेशका समानुपातिक सांसदहरूले गुनासो गरेका छन् ।
लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको सहयोग तथा सञ्चारिका समूह लुम्बिनी प्रदेशको व्यवस्थापन प्रदेश सरकारको नीति तथा कार्यक्रममा लैंगिक समानता, सामाजिक समावेशीकरण बिषय सार्वजनिक संवाद कार्यक्रममा समानुपातिक सांसदहरूले यस्तो गुनासो गरेका हुन् ।
सरकारले बनाउने बजेट तथा कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका प्रदेशसभा सदस्यहरुलाई पाखा लगाउने खेल चलिरहेको उनीले बताएका छन् ।
प्रदेश सरकारले यस पटक समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई बजेट बाँडफाँडमा सहभागी नगराएको र समानुपातिक सांसदलाई योजना छान्न नदिने तयारी थालिएको भन्दै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरुले गुनासो गरेका हुन् । बजेट निर्माण प्रक्रियामा समानुपातिक सदस्यहरुलाई विभेद गरिएको तर्क प्रदेशसभा सदस्यहरुको छ ।
प्रदेशसभा सदस्य तारा जिसीले सरकारले प्रदेशसभा सदस्यहरुको बीचमा समेत भेदभाव गरेको दाबी गर्नुभयो । ‘संविधानले ग्यारेन्टी गरेको कुराहरुमा हामीलाई विभेद गरिनुहुँदैन । विभेद गरिन्छ भने हाम्रो सभा छुट्दै, हामीले लगाउने लोगो छुट्टै बनाउनुपर्यो’– उहाँले भन्नुभयो– ‘प्रत्यक्ष र समानुपातिक सांसदको बीचमा गरिने जुन व्यवहार छ यो नै विभेद हो ।’
अर्का समानुपातिक सांसद लोका विश्वकर्माले प्रत्यक्ष सांसद जस्तै समानुपातिक सांसद पनि निर्वाचनको प्रक्रियाबाट आएको जनप्रतिनिधि भएको भन्दै किन विभेद भएको बताइन् । उनले समानुपातिक अधिकांश महिला सांसद भएकोले विभेद भएको बताईन। चालु आर्थिक वर्षमा प्रत्यक्ष निर्वाचित सांसदलाई दुई करोड २५ लाख र समानुपातिक सांसदलाई ७५ लाखको दरले योजना छान्न दिइएको थियो । अहिले समानुपातिक सांसदको बजेट कटौती गरि प्रत्यक्ष निर्वाचित सांसदलाई ५० प्रतिशत बजेट थप गरेको प्रती सांसदहरूले आपत्ति जनाएका छन् ।
प्रदेश सरकार यहि जेठ २१ गते आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याउने तयारीमा लागेको छ । गत बर्ष भन्दा केही आकार घटाएर बजेट ल्याउने तयारीमा प्रदेश सरकार छ । पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम आउन लागेको भन्दै प्रदेशबासीमा खासै उत्साह देखिएको छैन् । कार्यक्रमको सहजीकरण सञ्चारिका समुहकी अध्यक्ष अमृता अनमोल गरेकी थिइन ।


