![](https://pradeshpatra.com/wp-content/uploads/2024/05/8f74502f-9c8a-4d73-a8c4-db2c89872bcc-1778x1000.jpeg)
विजौरी । तुलसीपुर उपमहानगरपालिकाले करीव पाच बर्ष अघि सेन्टरमावि तुलसीपुरको जग्गामा तरकारी मण्डीको व्यवस्थापन गर्यो । तर बजारबाट टाढा भएकाले आम उपभोक्ताको पहुचमा हुन सकेन । समग्रमा त्यो तरकारी मण्डी विचौलियाहरुकै कव्जामा रह्यो । गृहिणीहरुका लागि भन्दा पनि थोक विक्रेताहरुकै लागी सो बजार स्थापित भयो ।
सेन्टर माविको तरकारी मण्डी चल्न नसकेपछि गाउमा तरकारी उत्पादन गर्ने किसानहरुले तुलसीपुरको घोराही चोक आसपासमा तरकारी वेच्न थाले । उनीहरुले वरुवागाउ कुलोदेखि विरेन्द्र चौक सम्मै तरकारी फिजाउन थालेपछि तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर विद्युत कार्यालय दक्षिणको घोराही तुलसीपुर सडक खण्डमा विहान ८ बजे सम्मकालागी तरकारी उत्पादक किसानहरुलाई तरकारी बेच्नकालागी स्थान दियो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काका अनुसार तरकारी उत्पादक किसान र उपभोक्ताहरुको प्रत्यक्ष कनेक्टिभिटिकालागि सो स्थानमा अस्थाई रुपमा विहानको समयमा मात्र तरकारी बेच्न अनुमति दिइएको थियो । किनकि तरकारीमा विचौलियाको विगविगिको अन्त होस भनेर ।
![](https://pradeshpatra.com/wp-content/uploads/2024/05/1119b007-b422-4fce-af76-0828aebc2ae7-1024x576.jpeg)
तर तुलसीपुर उपमहानगरपालिकाले विहानको केहि समयकालागी भनेर व्यवस्थापन गरिएदिएको सो क्षेत्रमा फेरी विचौलियाहरुले ब्रेक थ्रु गरेका छन् । यसले तरकारी उत्पादक किसान र उपभोक्ताबीच सोझै कारोवार हुन पाएको छैन । तरकारी उत्पादक किसानहरुले उनै विचौलियालाई तरकारी थमाएर फर्कन बाध्य भएका छन् । उनीहरुले विचौलियालाई तरकारी बेचेर जाने गर्दा उपभोक्ताहरुले फेरी विचौलियाबाट धेरै मुल्यमा तरकारी किन्न बाध्य भएका छन् ।
‘तुलसीपुर उपमहानगरपालिकाले हामीलाई तरकारी उपभोक्तालाइ बेच्नकालागी भनेर यो सडक पेटिको व्यवस्थापन गरिदिएको हो, तर विचौलियाहरुले हामीलाइ पेटिमा उक्लनै दिन्नन्, हामीले तलै सडकबाट तरकारी बेच्नु पर्दछ, जुन अनुमति प्राप्त क्षेत्र पनि होइन’– तुलसीपुर उपमहानगरपालिका–२ कुमालगढिका तरकारी उत्पादक किसान खुमलाल चौधरीले भने । उनी विहानै त्यस क्षेत्रमा आएर तरकारी बेच्ने गरेका छन्, तर सडक पेटिमा ढुक्क संग बसेर उनले उपभोक्तालाई तरकारी बेच्न पाएका छैनन् । आफुहरुलाइ छुट्याइएको क्षेत्र विचौलियाहरुले भाग वण्डा गरेका छन् । तोकिएको समयसम्म पेटिमा बसेर तरकारी बेच्न नपाएपछि उनले तीनै विचौलियालाई सस्तोमा तरकारी भिडाएर फर्कने गरेका छन् ।
यो पिडा खुमलालको मात्रै होइन, तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरकी तरकारी उत्पादक किसान सम्झना चौधरीको पनि छ । ‘जुन उदेश्यले उपमहानगरपालिकाले यो क्षेत्रलाई अस्थाई रुपमा विहानी तरकारी बजार बसायो, तर हामीले उपमहानगरपालिकाको सोच अनुसार व्यापार गर्न कहिल्यै पाएनौं, सडकमै बसेर बेच्न पाइदैन, माथि सडक पेटिमा चढ्न उनीहरुले दिन्नन्’, संझनाले भनिनन्, सडकमै बसेर व्यापार गर्नुभन्दा उनै पेटिमाथि बसेका विचौलियालाइ सस्तोमा फालेर फर्कने गरेको उनको गुनासो छ । संझनाका अनुसार विहान ८ बजेसम्मकालागि भनिएपनि सो स्थानमा भाडामा बसेजस्तै उनै विचौलिया व्यवसायीहरुले दिनभरी तरकारी बेचिरहेका हुन्छन् भने कतिले त उक्त स्थान कब्जामा लिएका हुन्छन ।
![](https://pradeshpatra.com/wp-content/uploads/2024/05/690ac0ce-ff6d-44f4-952d-bb6286325507-1024x576.jpeg)
यसो हुदा विहानी तरकारी बजारले उपभोक्तालाई पनि सहज र उपयुक्त मुल्यमा तरकारी पाउने अवसर बन्न सकेन । साथै तरकारी उत्पादक किसानले पनि निर्धक्क भएर सोझै उपभोक्तालाइ लागत मुल्यमा दिन सक्ने अवस्था रहेको छ । ‘विहानै आयो भने मात्र सोझै तरकारी उत्पादक किसानबाट सहज मुल्यमा तरकारी पाइन्छ, अलिकती ढिला भयोकि सवै तरकारी विचौलियाको थलोमा पुगिसकेको हुन्छ’, तुलसीपुर उपमहानगरपालिका९६ का उपभोक्ता शिवहरी गौतमले भने । तरकारी उत्पादक किसानबाट पाइने मुल्य भन्दा सडक पेटिमा स्थाई थलो जमाएर बसेका विचौलिया व्यवसायीबाट खरीद गर्दा हरेक तरकारीमा दश रुपैया देखि विस रुपैया सम्म महंगो पर्ने गरेको उनको अभिव्यक्ति थियो । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१८कि गृहिणि सरस्वती केसीको भनाइ पनि यस्तै छ । ‘सोझै किसानसंग सस्तोमा तरकारी पाइएला भनेर यहां आउछौं, तर आइनपुग्दै किसानले तरकारी विचौलियालाई बेचिसकेका हुन्छन्’–उपभोक्ता केसीले भनिन् । किसान फर्केपछि विचौलियाहरुले ती तरकारी महंगो मुल्यमा बेच्ने गरेको पनि उनको भनाइ थियो ।
उपमहानगरपालिकाले विहानको ८ बजेभन्दा पछि सो स्थानमा तरकारी व्यापार गर्न नपाइने भनेको छ । यद्धपि विचौलियाहरुले दिनभर जसो सोहि सडक पेटिमा बसेर व्यापार गरीरहेका छन् । यसबाट न तुलसीपुर उपमहानगरपालिकालाइ भाडा आएको छ, नत उपभोक्ताहरुलेनै किसानबाट सोझै तरकारी किन्न पाएका छन् । विचौलियाहरुले सरकारी कार्यालय समयमा समेत सोहि क्षेत्रमा बसेर व्यापार व्यवसाय गरीरहेका हुन्छन् । ती व्यवसायीहरु नगरप्रहरीलाइ समेत छल्दै व्यापार गरीरहेका हुन्छन् वा नगरप्रहरीनै त्यस स्थानमा विचौलियाहरुलाइ उठाउन आउने गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका बजार व्यवस्थापन तथा उपभोक्ता हकहित शाखाले सो स्थानमा विहान साझ मात्रै तरकारी विक्रि गर्न अनुमति दिएको जनाएको छ । ‘विचौलियाहरुले दिनभरीनै सोहि क्षेत्रमा तरकारी बेचेको जानकारी पाएपछि कैयौं पटक त्यहा पुगेर तरकारी जफत गर्ने पनि गरेका छौं’, बजार व्यवस्थापन शाखा प्रमुख रेखा शर्मा भन्छिन् ।
सो क्षेत्रमा निरन्तर निगरानी गर्न नगरप्रहरी पठाउने गरेको बताइएपनि विचौलिया बजार दिनभर नै चलिरहन्छ । यसको प्रत्यक्ष मार उपभोक्ता एवं तरकारी उत्पादकलाइ परेको छ । नगरबासीहरुले विद्युत कार्यालय अगाडि भएको विचौलियाहरुको ब्रेकथ्रु लाइ रोक्न उपमहानगरपालिकालाइ आग्रह गरेका छन् ।