लुम्बिनीः स्थानीय सेवाको गठनसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

दाङ – लुम्बिनी प्रदेश सभाको प्रदेश मामिला तथा कानुन समितिमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि दफाबार छलफल हुने भएको छ।

लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको सातौं बैठकले स्थानीय सेवाको गठनसम्बन्धी विधेयकमाथि दफावार छलफल गर्न प्रदेश मामिला तथा कानुन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभा नियमावली २०७९ को नियम १०९ को उपनियम १ को खण्ड ‘ख’ बमोजिम स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न प्रदेश मामिला तथा कानुन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

सभामुख तुलाराम घर्तीमगरले विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। ध्वनी मतको आधारमा सभामुख घर्तीमगरले विधेयकमाथि दफावार छलफलको लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको घोषणा गरे।

यो विधेयक प्रदेश सभामा गत वैशाख ३० गते दर्ता भएको थियो। अघिल्लो प्रदेश सभा बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिएको थियो।

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस