नेपाल–भारतको सम्बन्ध पौराणिक हो– मन्त्री खत्री

लमही । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न बहादुर खत्रीले नेपाल–भारतको सम्बन्ध पौराणिक भएको बताउनु भयो ।

भारत सरकारको सहयोगमा बनेको लमही नगरपालिका –३ मा रहेको बाल जनता माध्यामिक विद्यालयको नबनिर्मित भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खत्रीले पौराणिक सम्बन्ध हो, रोटी बेटीको सम्बन्ध हो, कहिलेकांही सम्बन्धमा उतारचढाव आएपनी दुबैले संम्यमता अपनाईदै आएको कारण यो सम्बन्ध आजसम्म रहेको बताउनु भयो ।


भारत सरकारले नेपाल र नेपाली जनतालाई सदैव साथ सहयोग गर्नेछ भन्ने अपेक्षा गरेको मन्त्री खत्रीले बताउनु भयो । त्यस्तै शिक्षा क्षेत्र सुधारका लागि लुम्बिनी प्रदेश सरकारले विद्यालयको संख्या थोरै र विद्यार्थीहरुको संख्या धेरै भन्ने अभियान चलाउन लागेको मन्त्री खत्रीले बताउनु भयो ।

दुरदराजका गाउँ तहमा रहेका विद्यालयलाई बाल स्कुल बनाउने, विद्यालय पुग्न नसक्ने विद्यार्थीको लागि यातायातको व्यवस्थापन गर्ने, एक विद्यालय एक स्वास्थ्यकर्मीको अबधारणा प्रदेश सरकारले ल्याउन लागेको उहाँको भनाई छ । मेरो विद्यालय मेरो जिम्मेवारी जस्ता नारा बनाई सम्बन्धित विद्यालयमा अध्यनरत विद्यालयबाट उतिर्ण भएका विद्यार्थीलाई मुख्य प्रशिक्षकका रुपमा बोलाएर प्रशिक्षण दिन लगाउदा राम्रो नतिजा आउने मन्त्री खत्रीले बताउनु भयो ।

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले भारत सरकारसंग भाईचारा सम्बन्ध, सांस्कृतिक चाल चलन समेत मिल्दाजुल्दोे भएको भन्दै भारत एक असल छिमेकी पनि भएको बताउनु भयो । भारतसंग सैन्य सम्बन्ध रहेको छ, विपतका बेला भारतले नेपाललाई सहयोग गर्दै आएको उहाँको भनाई छ ।


बाल जनता माध्यामिक विद्यालय वनगाउँलाई भारत सरकारले २९ कोठे पक्की भवन निर्माण गरि हस्तान्तरण गरेको छ । भारतीय राजदुताबासका प्रथम सचिव अविनाश कुमार सिंहले आगामी दिनमा पनि नेपालका विभिन्न क्षेत्रमा काम गर्न चाहेको बताउनु भयो । दुबै देशको सम्बन्ध चट्टान जस्तै मजबुत भएको बताउदै भारतले हालसम्म १९ वटा एम्बुलेन्स र ५ वटा स्कुल बस प्रदान गरेको बताउनु भयो । भावी दिनमा भारतले नेपालमा लगानी गरेर नेपाली जनतालाई सेवा सुविधा दिने बताउनु भयो ।


लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले नेपाल भारत विच पुरानो मित्रता भएको भन्दै दुबै देशका नागरिक एक देशबाट अर्को देशमा आवतजावतमा सहज हुने गरेको बताउनु भयो । नेपाल र नेपालीका लागि भारत सरकारले ठुलो लगानी गरेको कुरालाई स्मरण गर्दै यहाँको विकासका लागी भारतले चासो लिने गरेको बताउनु भयो । साथै विद्यालयको संरक्षण गर्ने र गुणस्तरीय शिक्षा प्रदानमा विद्यालय परिवार गम्भीर बन्नु पर्ने नगर प्रमुख चौधरीले बताउनु भयो ।


बाल जनता माध्यामिक विद्यालय वनगाउँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम प्रसाद चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मंत्री रत्न बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भवन हस्तान्तरण कार्यक्रमको सहजीकरण शिक्षक रुमाल प्रसाद बसेल र शिक्षिका रितु केसीले संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस