घोराही सिमेन्टलाई अल्टिमेटम

घोराही– घोराही मुर्कुटी सडक संघर्ष समितिले यसअघि भएका सहमति र सम्झौता कार्यान्वयन गर्न घोराही सिमेन्टलाई एकहप्ते अल्टिमेटम दिएको छ ।

घोराहीका १, ४, १७ र १८ नं. वडाका सडक आसपासका बासिन्दाको बिहीबार डबरीमा भएको भेलाले सिमेन्ट उद्योगदेखि तापासम्मको सडक मर्मत तथा पिच गराउनेलगायतका शर्त पूरा गर्न समय तोकेको हो । विभिन्न समयमा उद्योगले सहमति गर्ने तर पालना नगरेको भन्दै सहभागीले आक्रोश पोखेका थिए । उनीहरुले जिल्ला प्रशासन, स्थानीय सरकार, पीडित जनताबीच हालसम्म भएका सबै सहमति पालना गर्नुपर्ने नत्र जेठ १८ गतेदेखि सिमेन्ट उद्योग पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

उनीहरुले बाटोमा भएका खाल्टाखुल्टी पुर्नुपर्ने, रोलर लगाएर सडक सम्याउनुपर्ने, बैकल्पिक मार्गको पहल गर्ने, धुलो धुवाँ र स्पिड नियन्त्रण गर्नुपर्ने, नियमित पानी राख्नुपर्ने, पैदल हिड्ने विद्यार्थी र यात्रुलाई सुरक्षित तथा सफा भई गन्तव्यमा पुग्ने सुनिश्चित गर्नुपर्ने सहमति पालना गर्न माग गरेका हुन् ।

घोराही–४ का अध्यक्ष मधुसूदन घिमिरे (मुनाल) को अध्यक्षतामा भएको कार्यक्रममा घोराही–१ का अध्यक्ष राममणि पाण्डेय, घोराही–१७ का अध्यक्ष रामलौटन चौधरी, घोराही–१८ का अध्यक्ष भरतमणि अर्याल, संघर्ष समितिका संयोजक नारदमणि पोख्रेललगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस