लमही । लमही नगरपालिका वडा नं. ८ को सतबरियामा दुई महिने कम्प्युटर कक्षा सञ्चालन भएको छ । उक्त तालिममा वडा नम्बर ८ का विभिन्न टोलका १ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको छ । कम्प्युटर कक्षा दैनिक बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म कक्षा सञ्चालन हुने गर्दछ ।
वडा नम्बर ८ को आर्थिक सहयोगमा दुई महिने निःशुल्क तालिम दिइएको वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्काले बताउनु भयो । वडा नम्बर ८ ले विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको छ । सीप सिकेका प्रायः मानिसहरुले पेसा अंगालेर बसेका छन ।
वडा अध्यक्ष खड्काका अनुसार यो कार्यक्रम माध्यमिक शिक्षा परिक्षा (एसइई), कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै तालिमको आयोजना गरिएको हो ।
‘विद्यालयको शिक्षा सँगसँगै बाहिर कुराको पनि ज्ञान हुन्छ, सूचना र प्रविधिको समय आयो, समयमै विद्यार्थीले सिप सिकेर केही गर्न सकोस भन्ने हाम्रो मनसाय हो ।’ वडा अध्यक्ष खड्काले भन्नुभयो ।
‘फुर्सदिला भएर बसेका विद्यार्थीहरु निःशुल्क कम्प्युटर तालिम सिक्न पाउँदा हर्षित भएका छन । दिनभरी फेसबुक चलाएर समय जान्थ्यो तर वडा कार्यालयले निःशुल्क कम्प्युटर तालिमको कक्षा लिन पाउनु नै अवसर हो ।’ वडा नम्बर ८ बिजुलीपुरका सन्तोष चौधरीले भन्नुभयो ।
त्यस्तै भौकाकी अस्मिता चौधरीले ‘आधारभूत कम्प्युटर तालिमले पनि जीवनमा ठूलो महत्त्व राख्दछ, पढाइसँगै कम्प्युटरको ज्ञानले नयाँ कुरा सिक्ने मौका प्रदान गर्नेछ ।’ अस्मिताले भन्नुभयो ।
निःशुल्क कम्प्युटर तालिमको द मास कम्युनिकेशन कम्प्युटर इनिष्टिच्युटले लिएको छ ।