
लमही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले करदातालाई करको महत्व बुझाएर करको दायरामा ल्याउनु पर्ने बताउनु भयो । लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लमहीमा आयोजना गरेको आर्थिक वर्ष २०८१/ ८२ को बजेट तथा तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले जबसम्म करदातालाई करको विषयमा प्रष्ट संग बुझाउन सकिदैन तब सम्म कर संकलनमा समस्या रहने बताउनु भयो ।
बजेट विनियोजन गर्नु ठुलो कुरा हैन, विनियोजन भएको बजेटलाई कार्यान्यवन कसरी गराउने भन्ने कुराको चुनौती रहेको भन्दै सस्तो लोकप्रियताका लागि हचुवाको भरमा बजेट बांडफांड नगर्न सबैलाई निर्देशन दिनु भएको छ । धेरैजसो ठाउँमा मन मिल्ने दुई चार जनालाई साथमा लिएर बन्द कोठामा बसेर योजना छान्ने अनि आफु अनुकुलका निर्माण उपभोक्ता समिति गठन गर्ने जस्ता काम हुने गर्दछन, त्यस्ता कामको परिणाम राम्रो आउदैन, अनि उनीहरुकै व्यक्तिगत स्वार्थका लागि राज्यले विनियोजन गरेको बजेट फ्रीज भएर जान्छ त्यो घाटा कसलाई भयो ? मुख्यमन्त्री महराले प्रश्न गर्नु भयो ।
त्यस्तै आर्थिक मामिला तथा योजना मंत्री चेतनारायण आचार्यले भन्नु भयो ‘तीनै तहका सरकारलाई मेरो आग्रह छ, जति सकिन्छ त्यति मात्र योजना छनौट गरौँ र ति आयोजनाहरु समयमै सम्पन्न गर्ने तर्फ लागौं । विकट बस्तीमा बस्ने प्रदेशाबासीले पनि सरकार छ भनेर अनुभूति गर्न सकोस यसरी हामीले काम गर्नु पर्छ, नत्र हामी जनप्रतिनिधि हौँ भन्ने कुराको कुनै अर्थ रहन्न’ ।
आज सोमबार लमहीमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका ६ वटा जिल्लाका स्थानीय पालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो । अन्य ६ वटा जिल्लाका पालिका प्रमुखहरुसंग यस अघि बुटवलमा अन्तरक्रिया तथा छलफल भैसकेको छ । विषय वस्तुका बारेमा मन्त्रालयका सचिव राम बहादुर केसीले प्रष्ट पार्नु भएको थियो ।