दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा रिहा

नयाँदिल्ली । भारतमा सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश दिएको छ । यसबाट उहाँलाई विद्यमान राष्ट्रिय निर्वाचनमा प्रचार गर्न अनुमति प्राप्त भएको छ ।

राजधानी दिल्लीका मुख्यमन्त्री तथा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको सामना गर्नका लागि गठित विपक्षी गठबन्धनका नेता केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचारको अनुसन्धानको सिलसिलामा मार्चमा हिरासतमा लिइएको थियो ।

आपराधिक अनुसन्धानको दायरामा आउने समूहका धेरै नेतामध्ये उहाँ एक हुनुहुन्छ । उहाँका एक सहकर्मीले निर्वाचनभन्दा एक महिनाअघि उहाँको गिरफ्तारीलाई सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) द्वारा रचित ‘राजनीतिक षड्यन्त्र’ का रूपमा वर्णन गर्नुभएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपाङ्कर दत्तले केजरीवाल छ साताको निर्वाचनमा मतदानको अन्तिम दिन जुन १ सम्म हिरासतबाट बाहिर रहन सक्नुहुने बताउनुभएको छ ।

सन् २०२१ मा मदिराको बिक्रीलाई उदार बनाउने र यस क्षेत्रमा आकर्षक सरकारी हिस्सेदारी छाड्ने नीति लागु गर्दा केजरीवालको सरकारमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो । उक्त नीतिलाई अर्को वर्ष फिर्ता लिइयो तर लाइसेन्सको कथित भ्रष्ट विनियोजनमा नतिजाको अनुसन्धानले केजरीवालका दुई शीर्ष सहयोगीहरूलाई कारागार पुर्‍यायो ।

बारम्बार गलत कामलाई अस्वीकार गर्दै आउनुभएका केजरीवालको समर्थनमा उहाँको गिरफ्तारीपछि भारतभरका अन्य धेरै ठूला सहरमा जुलुस निकालिएको थियो ।

करिब एक दशकसम्म मुख्यमन्त्री रहनुभएका ५५ वर्षीय केजरीवाल पहिलोपटक कट्टर भ्रष्टाचार विरोधी योद्धाका रूपमा कार्यालय आउनुभएको थियो । उहाँले अनुसन्धानको हिस्साका रूपमा सोधपुछका लागि भारतको वित्तीय अपराध एजेन्सी प्रवर्तन निर्देशनालयको बोलावट आदेशको विरोध गर्नुभएको थियो ।

मोदीका राजनीतिक विरोधीहरू र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले लामो समयदेखि भारतको सङ्कुचित लोकतान्त्रिक स्थानप्रति चिन्ता व्यक्त गर्दै आएका छन् ।

विपक्षी कांग्रेस पार्टीका सबैभन्दा प्रमुख सदस्य तथा दशकौँसम्म भारतीय राजनीतिमा वर्चश्व कायम गर्ने वंशका राहुल गान्धीलाई गत वर्ष मोदीको पार्टीका एक सदस्यको उजुरीपछि आपराधिक मानहानिमा दोषी ठहराइएको थियो। उक्त फैसलालाई उच्च अदालतले निलम्बन नगरेसम्म उहाँको दुई वर्षको कारागार सजायले उहाँलाई केही समयका लागि संसद् बाट अयोग्य घोषित गरेको थियो ।

केजरीवाल र गान्धी दुवै दुई दर्जनभन्दा धेरै पार्टीबाट बनेको विपक्षी गठबन्धनको सदस्य हुनुहुन्छ र उक्त गठबन्धनले संयुक्त रूपमा भारतको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस