दाङ । तुलसीपुर उपमहानगरपालिकाले कृषकका खेतबारीको माटो परीक्षण गर्न थालेको छ । उमहामनगरको कृषि शाखाले वडा नम्वर २ बाट माटो परीक्षण गर्न सुरु गरेको हो ।
माटो परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख टिकाराम खड्काले कृषिलाई आधुनिकीकरण गर्न माटो परीक्षणको सुरुवात गरिएको बताउनुभयो । परम्परागत कृषिले कृषकको जीवनयापन नहुने भन्दै प्रमुख खड्काले उब्जनी बढाउनका लागि माटो परीक्षण आवश्यक भएको बताउनुभयो ।
माटोको अवस्था पहिचान गरी सोहीबमोजिमका किटनाशक औषधि प्रयोग गर्न मेयर खड्काले कृषकलाई आग्रह गर्नुभयो । क्रमशः सबै वडाका किसानका खेतबारीको माटो परीक्षण गरिने उहाँले बताउनुभयो ।
वडा अध्यक्ष भिमबहादुर योगीका अनुसार आज २ सय जना कृषकले माटो परीक्षणका लागि माटोको नमुना वडा कार्यालयमा बुझाएका छन् । संकलन गरिएको माटोको नमुना माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेमा पठाइने छ । परीक्षणको रिपोर्ट आउन एक हप्ता लाग्ने वडा सचिव पुष्पा घर्तीले जानकारी दिनुभयो ।