प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा यसलाई भव्यताका साथ मनाउँदै आएको छ । आगामी जेठ १० गते परेको २५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस बजेट अभावका कारण बुद्धजयन्तीको तयारी तीव्र रुपमा अगाडि बढ्न भने सकेको छैन ।
संघीय सरकारले बुद्धजयन्तीका लागि प्रत्येक वर्ष छुट्याउँदै आएको बजेट कटौती भएपछि यो वर्ष बुद्धजयन्तीको तयारीमा ढिलाइ भइरहेको छ । संघीय सरकारले वार्षिक रुपमा १ देखि ४ करोडसम्म बुद्धजयन्तीका लागि बजेट छुट्याउने गरेकोमा आर्थिक वर्ष २०८१–८२ मा भने बजेट छुट्याएको छैन । कोरोना भाइरस महामारीपछि २०७९ सालमा २५६६ औं बुद्धजयन्ती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भव्यताका साथ मनाएको थियो । त्यतिखेर संघीय सरकारले ३ करोडभन्दा बढी बजेट छुट्याएको थियो । भगवान् बुद्धको सबैभन्दा महत्वपूर्ण दिनका रुपमा बैशाख पूर्णिमालाई लिने गरिएको र विगतदेखि नै बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाउने गरिएकोमा यो वर्ष संघीय सरकारले बजेट कटौती गर्दा त्यसले बुद्धजयन्ती भव्य रुपमा मनाउन चुनौती देखिएको लुम्बिनी विकास कोषका योजना प्रमुख स्मिता भट्टले बताइन् ।
उनले कोषका तर्फबाट व्यवस्थापन गर्ने तयारी भएपनि संघीय सरकारले बजेट नदिँदा भव्य बनाउन कठिन हुने गुनासो गरिन् । लुम्बिनी विकास कोषले प्रशासनिक र अन्य विकासका कामहरूसमेत पर्यटकको दान एंव प्रवेश शुल्कको टिकटबाट प्राप्त हुने आम्दानीबाट हुँदै आएको छ । लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बुद्धजयन्तीलाई सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्नेमा त्यसो नभएको बताए ।
संघीय सरकारअन्तर्गत रहेको संस्कृति मन्त्रालयले बुद्धजयन्तीका बेलामा ५० लाख १ करोड रुपैयाँ नभइ पर्याप्त बजेट छुट्याएर मनाउनुपर्ने उनको सुझाव छ । बुद्धजयन्ती एक दिनका लागि मात्रै नभइ कम्तीमा एक हप्तासम्म मनाउनुपर्ने उनले बताए । ‘बुद्धिस्ट देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख, विदेशी पाहुना ल्याएर मनाउनुपर्छ,’ उनले भने –‘झारा टार्ने गरी मनाउनु हुँदैन ।’ उनले साँच्चिकै लुम्बिनीमा बुद्ध जन्मेको हो भनेर छाप छोड्ने गरी बुद्धजयन्ती मनाउनुपर्नेमा त्यसो हुन नसकेको बताए ।
विश्वभरका बौद्धधर्माम्बलम्बीलाई बुद्धजयन्तीमा लुम्बिनी आउने वातावरणका लागि सरकारले पर्याप्त बजेट छुट्याएर भव्य कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ । बुद्धजयन्तीमा विदेशी पाहुना आउँदा त्यसले स्थानीय होटल व्यवसायीहरूलाई पनि चलायमान बनाउने बताए । बुद्धजयन्तीमा स्थानीयलाई जोडेर, प्रदेश स्थानीय र संघस्य सरकारले संयुक्त रुपमा मनाउन सके त्यसले राम्रो सन्देश दिने अध्यक्ष ज्ञवालीले बताए ।
बुद्धजन्मस्थल लुम्बिनी आएका तीर्थालुहरूले समेत बुद्धजयन्ती तथा लुम्बिनी दिवसको कुनै तयारी नदेख्दा आश्चर्य प्रकट गरेका छन् । पक्लिहवा कृषि क्याम्पस भैरहवामा अध्ययनरत दाङका नरेश उपाध्यायले तीन सातापछि हुने बुद्धजयन्तीको कुनै पनि तयारी नदेखिदा अचम्म लागेको बताए । उनले बुद्धको जन्मजयन्तीमा विश्वभरका बौद्धमार्गीलाई लुम्बिनी आउने वातावरण बनाउनुपर्ने सुझाव दिए । ‘केही वर्षअघि छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत आएर बुद्धजयन्ती मनाइएको थियो । अब पनि त्यस्तै अन्र्तराष्ट्रिय उच्च ओहोदाका व्यक्ति, विदेशी कूटनीतिक निकायका प्रतिनिधि एंव विश्वभारका बौद्धहरूलाई ल्याउन सके त्यसले लुम्बिनीलाई थप उचाइमा पु¥याउन सहयोग गथ्र्यो,’ उनले भने ।
जेठ १० गतेको बुद्धजयन्तीका लागि लुम्बिनी विकास कोषले बजेट अभावकै कारण मूल आयोजक समिति गठन गर्नेबाहेक अन्य तयारी गरेको छैन । कोषले २५६८ औं बुद्धजयन्तीका लागि ५६८ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
बुद्धजन्मस्थल लुम्बिनी आफैँमा नेपालको सम्पत्ति भएकाले यसको विश्वव्यापी प्रचारका लागि बुद्धजयन्तीलाई अवसरका रुपमा लिनुपर्नेमा त्यसो नभएकोमा अर्घाखाँचीकी वसन्ता विश्वकर्माले चिन्ता व्यक्त गरिन् । विश्वभर नेपाल चिनाउने बुद्ध भएकाले आउँदै गरेको बुद्धजयन्तीलाई सरकारले औपचारिक रुपमा सार्वजनिक विदा दिएर मात्रै मनाउन नहुने बताइन् ।
बुद्धपूर्णिमालाई नेपालसहित बौद्ध राष्ट्रहरू भुटान, थाइल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङ्का, लाओसमा राजकीय सम्मानका साथ मनाउँछन् । यस्तै नेपालसहित चीन, भारत र युरोपका कतिपय देशमा सम्मानको साथ मनाउने गरिएको छ । गौतम बुद्धको जन्मभूमि नेपाल रहेकाले यहाँ बुद्धजयन्तीलाई विशेष उत्सव र नेपालको पर्वका रुपमा मनाउनुपर्ने सारोकारवालाहरूको माग छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले सरकारले बुद्धजयन्तीमा स्थानीयलाई समेत जोडेर राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताउँछन् । उनले बुद्धजयन्तीलाई बुद्धका सन्देश र दर्शन बुझ्ने र लुम्बिनीको प्रचार विश्वव्यापी बनाउने गरी मनाउनुपर्ने बताए ।
। नेपालमा तत्कालीन राजा त्रिभुवनले विसं २००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्याता दिएपछि नेपालमा रहेका लाखौँ बौद्धमार्गी नेपालीले बुद्धजयन्ती मनाउन थालेका हुन् । लुम्बिनीमा २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भएपछि बुद्धजयन्तीकै दिन सरकारले लुम्बिनी दिवश पनि मनाउन थालेको हो । विभिन्न बौद्ध मुलुकको पहलमा १९९९ देखि संयुक्त राष्ट्रसंघसमेत अन्तराष्ट्रिय रुपमै बुद्धजयन्तीलाई मान्यता प्रदान गरी सो दिनमा विश्वभर रहेका आफ्ना सबै कार्यालयमा बुद्धजयन्ती मनाउन बिदा दिँदै आएको छ ।