लमही । राजपुर गाउँपालिका वडा नम्बर ७ हाटबासमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएको छ । आगलागीबाट २५ घर मध्य २४ घर घरमा क्षति पुगेको छ । घर पूर्णरुपमा जलेर खरानी भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन ओलीले जानकारी दिनु भयो ।
उहाँका अनुशार आइतवार दिउँसो ११ बजे हावा चलेको बेला नजिकै बाँकेको गाईघाट सामुदायिक वनमा आगलागी हुँदा नियन्त्रण बाहिर गएको थियो । त्यसपछि पश्चिमबाट पूर्वतर्फ रहेको राजपुर गाउँपालिका वडा नम्बर ७ हाटबास निवासी सिता भण्डारीको घरबाट आगलागी हुन सुरु भएको थियो । जलेका अधिकांश घर काठले बनेका र खरका छानो भएका थिए । यसकारणले पनि आगो नियन्त्रणमा आउन समय लागेको बताइन्छ ।
आगलागीबाट राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास निवासी सिता भण्डारी, कृष्ण देवि ऐरी, विशाल बुढा, नरेश थापा, अर्जुन योगी, रुपनाथ योगी, धरम डाँगी, तेजबहादुर डाँगी, सालिक राम डाँगी, खेमराज डाँगी, खिमलाल खत्री, मनिनाथ कवर, लालबहादुर केसी, भरत केसी, दामोदर भण्डारी, लोकबहादुर भण्डारी, दुर्गा बोहरा, चन्द्रविर कुमाल, यमबहादुर कुमाल, भागीनाथ कुवर, इन्द्रबहादुर वली, बिमला वलीको घर पूर्णरुपमा जलेर खरानी भएको छ । आगलागीबाट घरमा रहेको पशुचौपाय, गाइ, भैसीँ, बाख्रा, नगद पैसा, गरगहना, काठ दाउरा सबै जलेर नष्ट भएको छ ।
यता इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार हाडबासमा भएको आगलागीबाट लाखौँकाे क्षेति भएकाे प्रारम्भिक अनुमान छ । आगलागीबाट आवासबीहिन भएकाहरु बिचल्लीमा परेका छन् । उनीहरुका लागि खाने र बस्ने दुवै समस्या भएको छ ।
आगो निभाउन लमही नगरपालिकाको एउटा दमकल ल्याइएको थियो । आगो निभाउन स्थानिय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी खटिएका थिए । प्रहरीका अनुसार आगलागी नियन्त्रणमा आएको छ ।
दिउँसो ११ बजेको समयमा लागेको आगो साँझ ६ बजेपछि नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणमा आएसँगै सरकारी निकाय र स्थानीयहरु प्रभावितको व्यवस्थापनमा लागेका छन् । आगलागी नियन्त्रणका लागि समेत दमकल लगायतका उपकरण र जनशक्तिको अभाव महसुस भएको राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ मानविय क्षेति हुनबाट रोक्यौं ,अब बस्न खानाकै समस्याछ,भएकाे जलेर खरानी भयाे ।’ राहत लगायतका विषयमा प्रदेश सरकारबाट आश्वासन आएको तर, ठोस केही नभइसकेको राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले बताउनु भयो । संघीय सरकारसँग कुनै समन्वय आफूहरुको नरहेको पनि उनले दुःखेसो गर्नुभयो ।
दुःखमा प्रदेश सरकार र संघ सरकारले सम्झिएला भन्ने अपेक्षा छ ।’ हाडबास गाउँमा तत्काल आवास र खानपासको समस्या भएको उहाँले बताउनुभयो । अहिले आगलागि पिडितहरु खुल्ला चाैरमा बसेका छन् । आगलागिबाट जलेका घर सबै खरले छाएका छन । जंगलमा लागेकाे आगाेकाे मुस्लाे हावाका कारणा एक्कासी गाउँमा प्रवेस गरेपछि गाउँनै जलेकाे हाे । टिनले छाएका घर आशिक रुपमा बँचेपनि खरका छाना भएका घर पुरै सखाप भएकाे छ । जम्मा घर मध्ये बचेका घर टिनले छाएका छ ।
खरका छाना हटाउने भनेर भनेपनि छानामा टिन भएकै कारण आफुहरुकाे घरमा क्षेति भएकाे स्थानिएकाे गुनासाे छ । गर्मी याम लागेसँगै देशका बिभिन्न क्षेत्रमा आगलागिका घटनाहरु बढेका छन् । जिल्लाका विभिन्न ठाउँमा डढेलो र आगलागीका घटना भएका छन् । आगलागी भएका क्षेत्रमा स्थानीय सरकारले उपस्थिति जनाएको छ । तर, स्थानीय सरकारसँग विपद्का बेला त्यसलाई नियन्त्रणमा लिनसक्ने दक्ष जनशक्ति र स्रोतसाधन छैन ।