
लमही । लमही नगरपालिकाले निशुल्क दुई महिने लोकसेवा कार्यक्रम संचालन गरेको छ । कार्यक्रमको आइतबार उद्घाटन गरिएको छ । जनतासंग मेयर कार्यक्रम अन्तर्गत दुई महिने निशुल्क लोकसेवा कार्यक्रमको आज उद्घाटन गरिएको हो । लमही नगरपालिका प्रमुख जोगराज चौधरीको जनतासंग मेयर कार्यक्रम अन्तर्गत विनियोजित वजेट मार्फत कार्यक्रम शुरु भएको हो । दाङका प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।
लमही नगरपालिकाका प्रशासन प्रमुख महेश थापा ठेडीका अनुशार ८५ जनाले निशुल्क लोकसेवा कक्षा लिने भएका छन्। सहभागी मध्ये महिलाहरुको सहभागिता बढी छ । सहभागीहरुमा उत्साह छ, जोंश जाँगर देखिन्छ, जसरी भएपनि लोकसेवा पास गर्नु पर्छ भन्ने मानसिकता बोकेर आउनु भएको हामीले पाएका छौं’- प्रशासन प्रमुख ठेडीले भन्नु भयो ।
उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले सरकारी सेवामा प्रवेश गरेर देश र जनताको सेवामा लाग्न यो लोकसेवा कार्यक्रमले युवाहरुलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भयो । पढे लेखेका जम्मै युवाहरु रोजगारीका लागि विदेश पलायन भैरहेका छन्, यस्तो अवस्थामा जसले कडा मेहनतका साथ् अध्ययन गर्दछ उसले लोकसेवा राम्रो तरिकाले पास गर्दछ’- प्रजिअ सुवेदीले भन्नु भयो । थोरै समयमा धेरै ध्यान दीयो भने पास भइन्छ, यहाँ सबैले सरकारी जागिरे हुनकै लागि पढ्नु पर्छ भनेर आउनु भएको होला कडा मेहनत गर्नुस अवश्य सफल हुनुहुनेछ’- उहाँले भन्नु भयो ।
त्यसैगरी लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकास देवकोटाले विश्वविद्यालयको पढाई जस्तो नभएको भन्दै जो व्यक्तिमा लगनशिलता हुन्छ, जो व्यक्तिले धैर्य र जाँगर लगाएर परिश्रम गर्दछ उसले मात्र फड्को मार्न सक्ने बताउनु भयो । अघिल्लो वर्ष लमही नगरपालिका-७ ले पनि निशुल्क लोकसेवा कक्षा संचालन गरेको थियो, त्यस बेला एक जना महिलाले लोकसेवा पास गर्न सफल हुनु भएको थियो ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी रामवंधु सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण प्रशासन प्रमुख महेश थापा ठेडीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन भिक्टोरिया ट्युसन सेन्टरका सत्यपाल यादवले गर्नु भएको थियो ।