नेपाली फेसबुकेलाई कतार पुगेका हात्तीको सन्देश

कतारको गर्मी खान जानुपर्ने खबर सुनेपछि रुद्रकली र खगेन्द्रप्रसाद हात्तीको चिन्ता बढेको थियो । तर आफूहरू चितवन निकुञ्जभित्रै हुँदा फेसबुकमा आफ्ना नाममा अरू हात्ती कतार जान ट्रक चढेको फोटो देखेर उनीहरू छक्क परे । त्यहाँ उनीहरूको पीरमा चिन्ता गर्नेको लर्को लागेको थियो । कतारका राजासँगै उड्न हात्ती चितवनबाट ट्रक चढेको त्यो भिडियो शेयर गर्दै धेरैले हात्तीलाई सान्त्वना दिएका थिए । कोही बिचरा हात्ती भन्दै भावुक भए । केही मिडियाले त अब हात्ती पनि नेपाली युवासँगै वैदेशिक रोजगारीमा हिँडे भनेर फुके । कसैले त जहाजभित्र सिटमा हात्ती अढेस लगाएर बसेको फोटो राख्न भ्याए । अर्को देशलाई हात्ती उपहार दिन हुन्छ कि हुँदैन भनेर गरमागरम बहस, अनि हात्तीसँगै राष्ट्रवाद छताछुल्ल ।

यी सबै देखेपछि कतार जाने पर्खाइमा निकुञ्जभित्रै बसिरहेका हात्तीलाई लाग्यो, नेपाली कति धेरै फुर्सदिला भएका । अर्थतन्त्र तहसनहस भएर खल्तीमा गैँडा, बाघ र हात्ती छापिएका नोट पर्न छोडे भनेर हल्ला गर्थे । तर हात्तीको बारेमा ठूल्ठूला कुरा गर्न त जति पनि फुर्सद रैछ । काम नभएका काम खोज्न हिँड्नु र काम भएका धमाधम काममा लाग्नु त कता हो कता, फेसबुकमा भएरनभएका गफ मात्रै छाँट्दा रैछन् । सबैथोक छोडेर फेसबुकमा मात्रै घोत्लिने नेपालीले ट्रक र जहाज चढाएर कतार पठाइसकेपछि हात्तीलाई पनि आफू कतारमै भएको भान भयो । कतार पुगिसकेपछि स्वदेशमा सन्देश त पठाउनै पर्‍यो । त्यसपछि फेसबुकमा हात्तीलाई ट्रक र जहाज चढाउने नेपालीका नाममा हात्तीले कतारबाट इमेल लेखे :

प्रिय नेपालीजन, हामी दुई हात्तीप्रति तपाईंले देखाएको माया र हाम्रो चिन्तामा व्यक्त गरिएका भावानले हाम्रो सुँड र दन्त दुवैको सान बढेको छ, हाम्रा चिम्सा र साना आँखाबाट भावनाको भेल बगेको छ । तर पीरको कुरा, यहाँ नेपालमा जस्तो फुर्सद छैन । सबै नेपाली काममा छन् । त्यहाँजस्तो यहाँ काम छोडेर फेसबुक हेर्न मिल्दो रहेनछ । हात्ती ट्रक र जहाज चढेको भिडियो र फोटो राखेर रमाइलो गर्ने फुर्सद त झन् कसलाई मिलोस् ! यहाँ आएपछि हामीलाई लाग्यो सबै नेपालीले नेपालमै यत्तिको जाँगर लगाएर काम गरेको भए, नेपाल उहिल्यै कतारजस्तो भइसक्थ्यो । हुन त नेपालका नेताहरूले देशलाई सिङ्गापुर र स्विट्जरल्यान्ड जस्तो बनाउँछु भनेर भाषण गरेको हामीले पनि सुनेका हौँ । मरुभूमि भएर होला, नेपाललाई कतारजस्तो बनाउँछु भनेर भाषण गरेको चाहिँ अहिलेसम्म सुनिएको छैन । तर यहाँ त मरुभूमि पनि उर्बर देखिन्छ । जता हेर्‍यो त्यतै हराभरा । यस्तो हराभरा बनाउन नेपालीको योगदान महत्त्वपूर्ण रहेछ । अरूको देशलाई यति राम्रो र सुन्दर बनाउन सक्ने नेपालीले आफ्नो देशमा चाहिँ किन केही गर्न नसकेका होलान् भनेर कतारमा पुगेकै दिनदेखि हामीलाई उदेक लागेको छ । हुन त नेपालमा जस्तै यहाँ पनि काम कम र गफ बढी भएको भए यत्तिको विकास कसरी हुन्थ्यो होला र !

हुन त हामी हात्तीलाई कुनै देश विकास भएको र नभएकोमा त्यति मतलब हुने कुरा पनि भएन । किनकि मान्छेको जस्तो हाम्रो आफ्नो देश छैन र हुँदैन पनि । हामी जनावरका लागि त विश्व नै आफ्नो घर हो, देश हो । हिँड्न र बस्न हामीलाई कुनै सीमा र छेकबार छैन । हामी जहाँसुकै पनि बस्न र रहन सक्छौँ । मान्छेलाई जस्तो नागरिकता, पासपोर्ट र भिसाको जरुरत हुँदैन । तर मान्छेले आफूजस्तै अर्को मान्छेलाई झैँ हामी जनावरलाई पनि अधिनमा राख्न खोज्छ । जीवजन्तु ओसारपसारका लागि भन्दै साइटीस लगायतका थरीथरीका ऐन, कानुन बनाउँछ । आफूभन्दा शक्तिशाली मान्छेलाई खुशी बनाउन हामीलाई उपहारमा पठाउँछ ।

ठीकै छ हामीलाई त मान्छेले जस्तो धेरै कमाउनु र रमाउन पनि छैन । खान र बस्न पाए पुग्यो । नेपालबाट उपहारस्वरूप कतार आउन पाउँदा पनि हामी खुशी नै छौँ । यहाँ आएपछि हामीले थाहा पायौँ, यहाँ काम गर्ने नेपालीले यहाँको एक हजार रियाल पठाउँदा नेपालमा ३६ हजार हात्ती हुँदो रहेछ । हामी दुई वटा हात्ती यहाँ आएपछि त कतारको सरकार खुशी भएर नेपाल पुग्ने हात्तीको सङ्ख्या अझै बढ्ने होला । जङ्गल र निकुञ्जमा कम भएर के भयो, नोटको हात्ती त थपिने भयो नि । हामीले थाहा पाएका छौँ, नेपालको अर्थतन्त्र कतारलगायतका विदेशी देशबाट रेमिट्यान्समा पुग्ने हात्तीहरूबाटै चलेको छ । यताबाट नेपाल पुग्ने हात्तीको सङ्ख्या घट्यो भने नेपालीको हालत के होला ? त्यसैले नेपालमा भएका हामीजस्ता अरू हात्तीलाई कतारजस्तै देशमा उपहारस्वरूप पठाउनुपर्छ र ती देशबाट रेमिट्यान्समार्फत धेरैभन्दा धेरै हात्ती नेपाल फर्काउनुपर्छ ।

अहिलेलाई कुरा यत्ति नै । साँच्चिकै कतार आएपछि फेरि अर्को सन्देश पठाउँला तर अहिले पठाएको हाम्रो सन्देश तपाईंले फेसबुकमा अपलोड गरेको भिडिओ जस्तै नक्कली हो । हामी त अहिले पनि चितवनको राष्ट्रिय निकुञ्जमा हाम्रो नाममा नेपालका मान्छेले गरेका उटपट्याङ्ग कथा, भिडिओ र समाचार हेरेर रमाइरहेका छौँ । हाम्रो नाममा हुने मनोरञ्जनबाट तपाईंको मन पनि अतिरञ्जन भैरहोस् । तथास्तु !!!

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस