दाङ । घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबारे तथ्यहीन समाचार प्रसारण गरेकोमा प्रेस काउन्सिल नेपालले मेचीकाली खबरका सम्पादक भोजराज थापालाई प्रेस काउन्सिलको सचेत हुन निर्देशन दिएको छ । स्वास्थ्य सेवाको विषयलाई लिएर दाङबाट सञ्चालित मेचीकाली खबर डटकमको अफिसियल युट्युव च्यानलबाट पटक पटक प्रशारण भएको सामग्रीको विषयमा प्रेस काउन्सिल नेपालले सम्पादकलाई सचेत हुन निर्देशन दिएको हो ।
प्रेस काउन्सील नेपाल आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले वैशाख ९ गते सचेत पत्र लेख्दै युट्युवमा प्रशारित सामाग्री एक पक्षीय, असन्तुलित र तथ्य भन्दा बाहिर सम्प्रेषण भएको प्रतिक्रिया खण्डित हुने आधार, प्रमाण नदेखिएको र पत्रकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने भन्दै आउदा दिनमा त्यसो नगरिए पत्रकार आचार संहिताबमोजिम कारवाही हुने चेतावनी समेत दिनुभएको छ ।
सचेत पत्रमा भनिएको छ–‘समाचारसँग सम्बन्धित पक्षबाट कुनै प्रतिक्रिया वा खण्डन प्राप्त भएमा उक्त प्रतिक्रिया वा खण्डनलाई उचित स्थान दिनु पत्रकार तथा सञ्चार माध्यमको कर्तव्य हुने पत्रकार आचारसंहिताको व्यवस्था रहेको हुँदा आगामी दिनमा सम्बन्धित पक्षको भनाइलाई स्थान दिन, तथ्यपूर्ण र सन्तुलित सामाग्री प्रसारण गर्न/गराउन अन्यथा प्रचलित कानुन एवं पत्रकार आचारसंहिताबमोजिम थप कारवाही हुनेतर्फ निर्देशानुसार सचेत गराईन्छ ।’
दाङको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटल र त्यहा कार्यरत डाक्टरको विषयमा तथ्य विपरित लान्छित गरेको भन्दै नेपाल चिकित्सक संघले मेचीकाली खबर डटकम र त्यसकै अफिसियल युट्युव च्यानलका सञ्चालक भोजराज थापामाथि कारवाहीको माग गर्दै प्रेस काउन्सील नेपालमा २०८० चैत ५ गते उजुरी दर्ता गराएको थियो । उजुरीमा स्वास्थ्य उपचार जस्तो गम्भिर विषयमा तथ्य नै नबुझी चिकित्सा विज्ञानप्रति नै जनविश्वास गुम्नेगरी दुष्प्रचार गरिएकोले युट्युव च्यानल तथा सञ्चालक भोजराज थापामाथि कारवाहीको माग गरिएको थियो ।
२०८० फागुन ३० गते उपचारको क्रममा एक बालकको मृत्यु भएको विषयमा थापाले एक पक्षीयरुपमा समाचार बनाएको चिकित्सक संघको आरोप छ ।



