आगलागी हुँदा तेलियामा दुई घर जलेर नष्ट

देउखुरी । लमही नगरपालिका -९ तेलियामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन । आगलागीबाट स्थानीय राम बहादुर कुमाल र उनका छोरा गणेश कुमालको घर जलेको इप्रका अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिए ।

आगलागीबाट लत्ताकपडा, खाद्यान्न गरि लाखौंको सामाग्री जलेको पिडित राम बहादुर कुमालले बताए । घर नजिकैको जंगलमा लागेको आगो हावाले उडाएर घरमा सल्किएको उनको भनाई छ ।
आगलागी भएको खबर प्राप्त हुनासाथ लमही नगरपालिकाको दमकल तेलिया पुगेको थियो, आगो जंगलभरी फैलिएको हुँदा आगो नियन्त्रण गर्न गढवा र घोराही उपमहानगरपालिकाको दमकल पनि बोलाइएको थियो ।

यसैबिच लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी तेलिया पुगेर अग्नि पिडितसंग भेटघाट गर्दै विपतका बेला स्थानीय सरकार साथमा रहेको बताउँदै नआत्तिन आग्रह गरेका थिए । पीडितलाई नगरपालिकाले तत्काल राहतको व्यवस्थापन गरिने उहाँले बताउनु भयो ।

लमही नगरपालिका- ९ का वडा अध्यक्ष भेष बहादुर केसीले पनि अग्नि पीडितलाई तत्काल वडा र पालिकाबाट अत्यावश्यक सामाग्री उपलब्ध गराईने बताए । दिनप्रतिदिन हुने आगलागीका घटनामा स्थानीय पनि चनाखो हुनु पर्ने वडा अध्यक्ष केसीको भनाई छ ।

इप्रका अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी चौकी रिहारका प्रहरी नायब निरीक्षक माधव रावत, वडा नम्बर ९ का वडा सदस्यहरु, लमही, घोराही र गढवाको दमकल र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो ।

केही दिन अघि मात्र लमही नगरपालिका -९ तरुलियामा घरमा भएको आगलागीबाट एक जनाको मृत्यु हुनुका साथै तीन घर जलेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस