नेकपा स्थापनाको अवसरमा प्रधानमन्त्री प्रचण्डको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गर्नु भएको छ ।

आज एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी क्रान्तिका नायक कमरेड भ्लादिमिर इल्यिच लेनिनको १५४ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५ औँ स्थापना दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी, वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरू एवं सम्पूर्ण जनसमुदायमा शुभकामना व्यक्त गर्नुभएको हो ।

यस अवसरमा महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्य लाभसहित दीर्घजीवनको कामना गर्दछु, शुभकामना सन्देशमा उल्लेख रहेको छ।

लेनिन जयन्तीको अवसर पारेर नेपालमा आजभन्दा ७५ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वर्गसंघर्ष र अन्तरसंघर्षका अनुभव र आन्दोलनका विभिन्न आरोह अवरोहका साथ नेपालको कम्युनिस्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको बताउनु भएको छ साथै यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको शुभकामना सन्देशमा उल्लेख रहेको छ ।

विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको बताउँदै उहाँले एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्ने र अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउने विश्वास व्यक्त गर्नुभयो ।

आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिन भएको पनि उहाँले बताउनु भएको छ ।

कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव रहेको निष्कर्षका साथ सुरु गरिएको सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्‍याउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस दिशामा सम्पूर्ण वामपन्थी शक्तिहरू एवं सम्पूर्ण क्रान्तिकारी जनसमुदायको सकारात्मक योगदान रहनेमा आफु विश्वस्त रहेको बताउनु भएको छ ।

जारी शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको ऐतिहासिक अवसरमा देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबिच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपिल समेत गर्नु भएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस