मन्त्रीको जिम्मेवारी पाएको तेस्रो दिनमै राजीनामा

लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले जिम्मेवारी पाएको तेस्रो दिनमै राजीनामा दिएका छन्।

जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि अहिरले राजीनामा दिएका हुन्। मुख्यमन्त्री जोखबहादुर महरालाई वैशाख ८ मा बुझाएको राजीनामा पत्रमा आफ्नो पार्टीसँग भएको सहमति कार्यान्वयन नगरिएकाले सरकार छोडेको बताएका छन्।

गत चैत २२ मा सत्तारुढ चार दलबीच सहमति भएको थियो। त्यो सहमतिअनुसार, जसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अहिरको भनाइ छ। त्यतिवेला जसपलाई शहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सहमति भएको थियो।

उनी माओवादी नेता महरा नेतृत्वको सरकारमा गत चैत २५ मा मन्त्री बनेका थिए। त्यतिवेला चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। अहिरसहित सबै मन्त्रीलाई विना विभागीय थिए।

मुख्यमन्त्री महराले वैशाख ६ मा अहिरलाई जिम्मेवारी दिएका थिए। उनलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए। तर मन्त्रालयको जिम्मेवारी पाएको तेस्रो दिनमै राजीनामा दिएका छन्।

प्रदेश सभामा जसपाका तीन सांसद छन्। मन्त्रीले राजीनामा दिए पनि जसपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस