रिहारलाई देशकै नमूना पर्यटकीय क्षेत्र बनाउनु पर्छ- चौधरी

लमही । बगार बाबा धार्मिक विकास समितीको ३१ औं साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै नेपाल सरकारका पुर्व मन्त्री तथा संघीय सांसद मेटमणि चौधरीले बगार बाबा धार्मिक क्षेत्रलाई देशकै नमूना पर्यटकीय क्षेत्र बनाउनु पर्ने बताउनु भयो ।

पर्यटकीय क्षेत्रको संभावना बोकेको पवित्र धाम रिहारलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउने गरि यहाँको विकास निर्माण, जिर्ण अवस्थामा रहेका मठ मन्दिरहरुको मर्मत सम्भार, ताल तलैयाहरुको सरसफाई गर्न जरुरी रहेको चौधरीले बताउनु भयो ।

साधारणसभा कार्यक्रममा बोल्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले धार्मिक क्षेत्रको विकासका लागि युवाहरुले देखाएको सक्रियता निकै महत्त्वपूर्ण भएको बताउनु भयो । सबै समुदायका मानिसलाई समेट्दै बगार बाबा परिसरको महत्त्व झल्किने गरि काम गर्न समितिलाई आग्रह गर्नु भएको छ ।

‘बगार बाबा धामले ऐतिहासिक महत्त्व बोकेको छ, माघ महिनामा मात्र धर्मावलम्बी आउने हैन बाह्रै महिना यो क्षेत्रमा आउने खालको वातावरण गराउनु पर्छ’- उपप्रमुख योगीले भन्नू भयो । यो बगार बाबा धाम पनि जिल्लाका शक्तिपिठ मध्य एक हो, यो क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सके वडा नबर ९ लाई आर्थिक रुपमा बलियो गराउन सकिने उहाँको भनाई छ ।

बगार बाबा धार्मिक विकास समितिका संस्थापक अध्यक्ष डिल्ली बहादुर खड्का, पाण्डवेश्वर महादेव धाम धारापानीका अध्यक्ष गणेश अधिकारी, लमही नगरपालिका -९ का वडा अध्यक्ष भेश बहादुर केसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष रवीन्द्र खत्रीको अध्यक्षता तथा पुर्व मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्य एवम् लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको विशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष मान सिंह वलीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव नन्दलाल वलीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस