आज चैतेदशैं पर्व

काठमाडौं । आज चैते दशैं पर्व । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा एवम् शक्तिस्वरूपा भगवतीको पूजाआराधना गरी मनाइने प्रचलन छ ।

चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ । शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन् ।

यस्तो छ यसको महत्त्व

वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन् । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ ।

संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् ।

आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् । तर यी सबै दशैंहरूको आआफ्नै विशेषताहरू छन् । यी दशैंहरुमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् ।

चैतेदशैंका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ । नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस