सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका दुई जनाको दाबी पेश

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका दुई जनाले दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुख नजिर मिया समक्ष नाउपाका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ । उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थनमा आज मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको बताइएको छ ।

मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मणकिशोर चौधरीले पनि दाबी पेश गर्नुभएको छ । चौधरीले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा चौधरीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई वैशाख २ गते बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

नयाँ सत्ता समीकरणसँगै नाउपाभित्र चरम विवाद रहेको छ । यहाँ पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ निकट २ जना र संरक्षक रेशम चौधरी निकट ४ जना प्रदेश सभा सदस्य रहेका छन् ।

५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ सरकार गठनका लागि २७ जना आवश्यक पर्छ । हाल नाउपाका इन्दिरा गिरी पदमुक्त रहेकी छन् भने रिक्त अर्को पदमा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । यहाँ काँग्रेसका १८, एमालेका १०, माओवादी केन्द्रका ११, नाउपाका ६, नेकपा एसका ४, राप्रपा १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस