काभ्रे । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित नागवेलीमा फूल फुल्दै गरेको बोधिचित्तको रूख काटेका छन् । बोधिचित्तको माला भएको जग्गा ठकुरानी तामाङको नाममा छ । गए राती अज्ञात समूहले तामाङको घरको मूल ढोकामा विस्फोटक पदार्थसमेत राखिदिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
हरेक वर्ष करोडौंमा बिक्री गर्दै आएको बोधिचित्त मालाको रुख अपरिचित समूह आइ काटेर फरार भएका छन् । बजारमा निकै राम्रो मानिने बोधिचित्तको माला उक्त रुखमा फल्ने रहेछ ।
उक्त घटनाका शंकास्पद व्यक्तिहरुको पहिचानका लागि खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जानकारी दिनुभयो ।
गत दुई–तीन महिनाअघि वार्षिक ३ करोड रुपैयाँ दिने गरी सम्झौता गरेर ५ वर्षलाई सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरिएको थियो । बोधिचित्त रुखको विभिन्न व्यापारीसँग बैना लिने गरेपछि विवाद हुँदै आएको थियो । गत वर्ष उक्त बोधिचित्त माला ९० लाखमा बिक्री भएको थियो ।
बहुमूल्य बोधिचित्तको माला लुटपाट हुन थालेपछि व्यवसायीहरुले सुरक्षार्थ गार्ड पनि खटाउने गरेका थिए । १२ असार २०७७ मा त्यसरी सुरक्षागार्ड खटाएकै बेला एउटा समूहले गोली चलाएर बोधिचित्त लुटपाट गरेको थियो ।
मालाको सुरक्षार्थ राखिएको क्लोज सर्किट (सीसी) क्यामरा समेत तोडेर मध्यराति ९० लाख रुपैयाँ बराबरको बोधिचित्तको माला लुटिएको थियो । प्रहरीका अनुसार, त्यसबेला कम्तिमा २० जनाको समूहमा हतियारसहित गएका व्यक्तिले माला लुटेर लगेका थिए । दाना फल्ने बेलामा मात्र लुटपाट हुने गरेकाले जेठदेखि सुरक्षामा टोली खटाइने गरिन्थ्यो ।
के हो बोधिचित्त ?
बौद्ध धर्मावलम्बीहरुका लागि विशेष महत्वको माला बोधिचित्तलाई स्थानीय भाषामा बुद्धचित्त भनिन्छ । काभ्रेको तिमाल क्षेत्रमा यसका रुखहरु छन् । तीमध्ये पनि गएराति काटिएको रुखमा फल्ने दानालाई गुणस्तरीय मान्ने गरिन्छ ।
‘रुखहरु त थुप्रै छन्, तर यहाँको माला गुणस्तर हुन्थ्यो’, माला कारोबारी त्रिपाठी भन्छन्, ‘त्यसैले यहाँको दानाको मूल्य पनि बढी पर्थ्यो ।’ जानकारहरुका अनुसार, बोधिचित्तको १ सय ८ दानालाई एउटा सिंगो माला बनाएर प्रयोग गर्ने गरिन्छ । यो जप गर्ने प्रयोजनका लागि प्रयोग हुन्छ ।
व्यवसायीहरुका अनुसार, नेपालको बुद्धचित्त माला चीन, तिब्बतबाहेक जापान, मकाउ, थाइल्यान्ड, कोरिया, भियतनामलगायत देशमा पनि पठाउने गरिन्छ ।
‘यसको बजार नेपाल होइन, मुख्य गरी चीन र अरु देशमा निर्यात हुने हो’, त्रिपाठीले भने, ‘बोधिचित्त मालाको बजार मूल्य मालाको प्रकार र आकारअनुसार फरक पर्न जान्छ ।’
अर्का एक व्यवसायीले भने नेपालमा वार्षिक तीन करोडमा सम्झौता गरिएको रुखबाट उत्पादन हुने माला विदेशी बजारमा जाँदा १० करोड रुपैयाँसम्ममा बिक्री हुने बताएका छन् ।


