
काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेका सांसद विमला घिमिरे बहुमतले निर्वाचित हुनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद घिमिरेलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १६ मत परेको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले उपाध्यक्ष पदका उम्मेदवार घिमिरे बहुमतले विजयी हुनुभएको जानकारी गराउनुभयो । मतदान पक्रियामा ५५ सांसदहरुले भाग लिनुभएको थियो ।
बैठकमा सांसद भगवती न्यौपानेले सांसद बिमला घिमिरेलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी बैठकमा उपाध्यक्ष पदका अर्का उम्मेदवार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीको पक्षमा १६ मत र विपक्षमा ३९ मत परेको थियो ।
बैठकमा सांसद दुर्गा गुरुङले सांसद विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले नवनिर्वाचित उपाध्यक्ष बिमला घिमिरेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।
यसैबीच, राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभामा गराउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक चैत ३० गते शुक्रबार १ बजे १५ मिनेटमा बस्नेछ ।