
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन् । बैठकको आकस्मिक समय सकिए लगत्तै प्रतिपक्षी दलहरू आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए ।
आ–आफ्नो स्थानमा उठेर अवरोध गरिरहेका सांसदहरूलाई सभामुख देवराज घिमिरेले पटक– पटक आ–आफ्नो स्थानमा आशन ग्रहण आग्रह गरेपनि प्रतिपक्षी दलका सांसदहरू नबसेपछि बैठक स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस, राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टीले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते आइतबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्नको लागि संसदीय समिति बनाउनु पर्ने अडानलाई कायमै राखेको थियो ।
बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दलले सहकारीमा भएको रकम हिनामिनाको विषमा संसदीय समिति बनाएर निष्पक्ष छानविन गर्न माग गरिरहेको भएपनि सरकारले पहल नगरेको बताउनुभयो ।
उहाँले उपप्रधान तथा गृहमन्त्री भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिको प्रहरी अनुसन्धान रोकिएको आंशका व्यक्त गर्नुभयो ।
नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले जनताको सार्वभौमिकताको अभ्यास हुने थलोमा सत्तापक्षमा बसेका कारण संसदमा बोल्न नपाउने अवस्था सिर्जना भएको बताउनुभयो ।
उहाँले व्यक्ति विशेषमा रहेर भन्दा पनि सहकारीका बचतकर्ता नठगिने सुनिश्चितता गर्न सबै लाग्नु पर्ने भन्दै बचत कर्ताको रकम सुरक्षित गर्ने गरी, सहकारीका विषयमा राष्ट्रिय बहस र छलफल सिर्जना गरी समस्या समाधान गर्नतिर लाग्नु पर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले समाज र जनताले संसद् र सांसदहरूसँग ठूलो अपेक्षा गरिरहेको भन्दै एक अर्कालाई दोषारोपण बन्द गरेर जनताका समस्यामा बहस गरेर समस्या समाधान तर्फ लाग्नुपर्ने बताउनुभयो ।
सांसद सापकोटाले संसद्को गतिरोध हटाएर कानुन निर्माण गर्ने र सहकारीलाई न्याय दिने विषयमा बहस र छलफल गरेर सहज रुपमा संसद् अगाडी बढाउन लाग्नु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले देशमा सुशासन नहुँदा मुख्य समस्या सिर्जना भइरहेको भन्दै सुधारिएको अवस्था सिर्जना गर्न रास्वपा लागिरहेको भन्दै त्यसमा आशङ्का नगर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले शान्तिपूर्ण आन्दोलनमा सरकारले हस्तक्षेप गरिरहेको र निषेधित क्षेत्र घोषणा गरेर शान्तिपूर्ण आन्दोलन रोक्न खोजिरहेको आरोप लगाउनुभयो ।
जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले सरकारले लगानी सम्मेलन गरिरहँदा धेरै ऐन कानुन संशोधन गर्न आवश्यक रहेकाले त्यसतर्फ समयमानै ध्यानदिनुमा जोड दिनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले लाखौँ सहकारी बचतकर्ताको अरबौँ रकम अपचलनमा परेको भन्दै संसदीय समिति बनाएर छानविन गर्न माग गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारीबाट जनता ठगिनु परेको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने र प्रतिपक्षको मागमा सार्थक वार्ता गरी संसद्को गतिरोध अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा आम जनता पार्टीका सांसद प्रभु शाह, सांसद अमरेश कुमार सिंहलगायतले धारणा राख्नु भएको थियो ।