भालुभाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले चार सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । शुक्रवार मुख्यमन्त्री पदको शपथ लिएसँगै महराले तीन जना मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमालेबाट चेतनारायण आचार्य र नेकपा माओवादी केन्द्र दीपेन्द्र पुन मगर र जनता समाजवादी पार्टी (जसपा) बाट भण्डारीलाल अहिरलाई शपथ ग्रहण गराए । आचार्य अर्घाखाँचीका, पुन रोल्पा र अहिर बाँकेका हुन् । उनीहरूको जिम्मेवारी तोकिएको छैन ।
मुख्यमन्त्रीले आइतवार नै दाङको देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् । मुख्यमन्त्री महरालाई एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन छ । उनीहरुलाई पनि मन्त्री बनाउने तयारी छ । १० मन्त्रालय रहेको लुम्बिनीमा बढाउने तयारी भइरहेको छ । ४८ सांसदको समर्थनसहित महरा संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छन् ।
सरकारलाई एमाले, माओवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन रहेको छ ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी (सभामुख सहित) ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४र४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३र३, स्वतन्त्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १र१ जना सांसद छन् । लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ ।
को हुन् मुख्यमन्त्री महरा ?
माओवादी भित्र प्रताप नामबाट बोलाईने मुख्यमन्त्री जोखबहादुर महराको जन्म २०२० साल कार्तिक १ गते साविक गजुल–२, रोल्पा, हाल सुनिलस्मृति–५ गजुल काट्रने रोल्पामा भएको हो । बुवा स्वर्गीय खलबहादुर महरा र रमिता महराबाट जन्मेका महराले विद्यार्थीकालबाटै राजनीति गर्न थालेका हुन् ।
२०३५/०३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा आकर्षित भएका महरा आज सम्म राजनीतिबाट थाकेका छैनन् । ३६ सालमा दाङको घोराहीबाट विद्यार्थी आन्दोलनमा होकिएका जोखबहादुरले २०३७ देखि ३९ साल सम्म प्राबि शिक्षक भएर अध्यापन र राजनीति सँगसँगै लगेका थिए । २०३९ देखि ४४ सम्मपनि माबी शिक्षक र राजनीति गरिरहेका महरा शिक्षणसँगै २०४२ सालमा अ.ने.रा.स्व.वि.युको सचिव बनेका थिए । विद्यार्थी राजनीतिकै बेला महराले २०४२ सालमा नेकपा मशालको पार्टी सदस्यता प्राप्त गरेका थिए । पार्टीले २०४३ सालमा अ.ने.रा.स्व.वि.युको केन्द्रीय सदस्यको जिम्मेवारी तोकेका महरा २०४७ सालमा भने नेकपा मशालको रोल्पा जिल्ला कमिटी सदस्य बनेका थिए ।

२०५० सालमा पार्टीको पूर्णकालिन कार्यकर्ता बनेका महराले एस.एल.सि. श्री जनज्योतिमावि गजुल रोल्पाबाट, प्रमाणपत्र तह, राजनितिशात्र÷अर्थशात्र, संस्कृति,महेन्द्र बहुमुखी क्याम्पस दाङबाट तथा स्नातकतह पनि राजनितिशात्र अर्थशात्रमा महेन्द्र बहुमुखी क्याम्पस दाङबाट गरेका हुन् ।
२०५० मा पूर्णकालिन भएलगत्तै महरा २०५१ सालमा ने.क.पा. (माओवादी) को रोल्पा जिल्ला सेक्रेटरी, २०५४ सालमा नेकपा (माओवादी) को क्षेत्रीय व्यूरो सदस्य, २०५६ देखि २०६० साल सम्म नेकपा माओवादीको अन्र्तराष्ट्रिय विभागको जिम्मेवारी, २०६० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बनेका थिए ।
अविचलित राजनीतिमा रहेका महराले २०६४ सालमा नेकपा माओवादीको तर्फ बाट संविधान सभा सदस्य, २०६२ देखि २०६५ साल सम्म पार्टी अध्यक्ष क. प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारी निभाएका थिए । २०६६ सालमा पार्टीको बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला इन्चार्जको जिम्मेवारी समेत महराले निभाएका थिए । ०७४ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख स्वकीय सचिव सहित २०७२ देखि २०७८ सम्म अध्यक्ष क.प्रचण्डको प्रमुख स्वकीय सचिव भएर महराले हेडक्वाटरको व्यवस्थापन गरेका थिए ।
हाल नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य रहेका उनी विगत निर्वाचनमा रोल्पा जिल्ला प्रदेश सभा क्षेत्र नं.१ को बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवार बनेर निर्वाचनमा विजयी भएका थिए । माओवादी लुम्बिनी प्रदेश संसदीयदलका नेता रहेका महरासँग छोटो समय मुख्यमन्त्री लिला गिरीको बेला अर्थमन्त्रालय संचालनको समेत अनुभव रहेको छ ।


