
काठमाडौँ । बैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेश १ क मा हुने उपनिर्वाचनको लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । इलाम २ मा प्रतिनिधिसभा सदस्यको लागि र बझाङ प्रदेशसभा १ क मा प्रदेसभा सदस्यको लागि हुने उपनिर्वाचनको लागि बिभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।
इलाम २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको लागि बिभिन्न १२ राजनीतिक दल र स्वतन्त्र गरी २० जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मनोनय दर्ताको लागि आयोगले विहान १० वजे देखि ५ वजेसम्मको सयम तोकेको थियो यो अबधि भित्र २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले साझा उम्मेदवार सुहाङ नेम्बाङको मनोनयन दर्ता गरेका छन् । इलाम क्षेत्र नं २ मा नेकपा एमाले र नेकपा मओवादी केन्द्र बाहेकका अन्यदलले छुट्टा छुट्टै उम्मेदवारको मनोनयन दर्ता गरेका छन् । जस अनुसार प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले डम्बरबहादुर खड्काको उम्मेदवारी दर्ता गरेको छ ।
कांग्रेसले मनोनयन दर्ता गर्नु अगाडी उम्मेदवार घोषणा सभा आयोजना गरेको थियो ।त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुको मनोनयन दर्ता गरेको छ । नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईको मनोनयन दर्ता भएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
इलामा क्षेत्र नं २ को उपनिर्वाचनको लागि २० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका थिए । उम्मेदवारले बाँजागाँजा र झाँकीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गइ उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसैगरी बझाङ प्रदेश सभा १ क मा प्रदेसभा सदस्यको लागि हुने उपनिर्वाचनको विभिन्न ९ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । जसमा नेकपा एमालेका दमन भण्डारी, नेकपा माओवादी केन्द्रका जनक बुढा र नेपाली कांग्रेसका अभिषेक बहादुर सिंह, नेकपा एकीकृत समाजवादीको तर्फबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
इलाममा नेकपा एमालेको उम्मेदवारलाई समर्थन गरेको माओवादी केन्द्रले बझाङ प्रदेशसभा १ क को सदस्यमा भने छुट्टै उम्मेदवारको मनोनयन दर्ता गराएको हो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले किशोर खड्काको उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै मनोनयन दर्ता गर्ने अन्य राजनीतिक दलमा राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा‚ नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्ती मगर र जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री रहेका छन् । बझाङमा १९ राजनीतिकदलले निर्वाचन आयोगमा दल दर्ता गरेका थिए ।
२५ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ । यसैगरि चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने छ ।