दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिने भएका छन्। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले चैत २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।
आज बस्ने प्रदेश सभाको चौथो अधिवेशनमा विश्वासको मत लिने कार्यसूची भए पनि आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था रहेपछि संसद बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री चौधरीले राजीनामा दिने तयारी गरेका हुन्।
विश्वासको मत लिने र सरकारलाई जोगाइराख्ने कसरतमा मुख्यमन्त्री देखिए पनि साना राजनीतिक दलहरु पनि नयाँ राजनीतिक समीकरणको आधारमा सरकार बनाउने कसरतमा जुटेपछि सरकारले विश्वासको मत नपाउने अवस्था छ।
गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए। ८७ सदस्यीय प्रदेश सभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ। बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ।
कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपा ३, लोसपा ३, जनमत ३, जनमोर्चाका १ जना प्रदेशसभा सदस्य छन्। मुख्यमन्त्री चौधरीले राप्रपालाई आफ्नो साथमा लिए पनि बहुमत पुर्याउन सक्ने अवस्था देखिँदैन।
कांग्रेस, नागरिक उन्मुक्ति पार्टी, राप्रपा, लोसपा, जनमत र जनमोर्चाको गरेर जम्मा ४१ जना प्रदेश सभा सदस्य छन्। नयाँ राजनीतिक समीकरणको आधारमा एमालेका २९, माओवादी सभामुखबाहेक १०, जसपा ३, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको साथ लिएर नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ।
लुम्बिनीमा माओवादीले सरकार बनाउने गरी दलहरुसँग छलफल अघि बढाएको छ। संसदीय दलका नेता जोखबहादुर महरा आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी छलफलमा जुटेका छन्।


