नागरिक उन्मुक्तिमा विश्वासको मतका लागि दुई थरी ह्विप

कैलाली । सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे नागरिक उन्मुक्ति पार्टीमा दुईथरी ह्विप जारी भएका छन् ।

अध्यक्ष रन्जिता श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारको नेतृत्व गरेका कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप लगाउनु भएको छ भने सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक खुशीराम चौधरीले पक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको हो ।

यसअघि आज नै अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद एवं प्रदेश सरकारकी कृषि राज्यमन्त्री इन्दिरा गिरीलाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरी प्रदेश सभा सचिवालयमा पत्र पठाउनु भएको छ । गिरी रेशम चौधरी पक्षकी हुन् ।

यस बिषयमा नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अध्यक्षलाई कार्वाही गर्ने अधिकार नभएको बताउनुभयो । उहाँले आफू दलको नेता भएकाले आफुलाई जानकारी विना कार्वाही गर्ने अधिकार अधयक्षलाई नभएको उहाँले बताउनुभयो ।

यता सुदूरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारीले कार्वाही गरिएको पत्र प्रदेशसभा सचिवालयमा पुगेको बताउँदै अध्ययनपछि मात्र निर्णय हुने बताउनुभयो । मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । यसका लागि उहाँ अन्तिम तयारीमा जुट्नु भएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस