पोखरा । कास्कीको भदौरेमा आज जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखरादेखि सल्यान जाँदै गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो जिप कास्कीको अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने सल्लाघारीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा पोखरा–२३ पामे क्षेत्रका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनार रहनुभएको छ । जिप दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको उहाँहरूलाई मणिपाल शिक्षण अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिपमा सवार १० जना घाइते हुनुभएको र हाल उहाँहरूको पहिचान नखुलेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले बताउनुभयो । घाइतेहरूको पोखराको मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा उपचार भइरहेको छ ।
दुर्घटना दिउँसो करिब ४ः२५ बजे भएको र जिप सडकदेखि करिब डेढ सय मिटर तल खसेको स्थानीयले बताएका छन् ।


