एसइई परीक्षाका लागि दाङमा ४७ परीक्षा केन्द्र तोकियो

दाङ । दाङमा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) १२ हजारभन्दा बढी विद्यार्थीले दिने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ दाङले जिल्लामा रहेका सामुदायिक तथा निजी दुई सय ४४ विद्यालयबाट १२ हजार ८ सय ९८ जनाले एसइई दिन लागेका जानकारी दिएको छ ।

एसइई दिनेमा छात्रको संख्याभन्दा ७ सय २ जना बढी छात्रा रहेका छन् । दाङमा एसइई दिने ५ हजार ७ सय ६३ छात्र र ६ हजार ४ सय ६५ जना छात्राको सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख देवमणि चौधरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार गत वर्ष जिल्लाबाट १३ हजार ४ सय ५२ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । गत वर्षको तुलनामा यो वर्ष पाँच सय ५४ जना कम भएका छन् । इकाइ प्रमुख चौधरीका अनुसार यो वर्ष जिल्लामा प्राविधिक धारतर्फ ३ सय २३ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

उहाँका अनुसार प्राविधिक धारतर्फ छात्र एक सय ६१ र छात्रा १ सय ६२ जना छन् । त्यसैगरी एक सय ५२ जना छात्र र एक सय ९५ जना गरेर ३ सय ४७ जना विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिन थालेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चौधरीले जानकारी बताउनुभएको छ ।

जिल्लामा एसइईका लागि ४७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । गत वर्ष ४५ वटा परिक्षा केन्द्र रहेकोमा यो बर्ष घोराहीमा रहेको नेपाल प्रहरी स्कुल र तुलसीपुरमा रहेको गोरखा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र थप गरिएको प्रमुख चौधरीले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘विद्यार्थीको सहजताका लागि पायक पर्ने गरि जिल्लामा यो वर्ष दुईवटा परीक्षा केन्द्र थप गरिएको छ।’

जिल्लामा यस बर्ष ६ जना दृष्टिविहीन विद्यार्थीले एसइई परीक्षा दिन थालेका छन् । जसमा तुलसीपुरमा रहेको गुरुजजुर माध्यमिक विद्यालयबाट चार जना छात्र र आदर्श माध्यमिक विद्यालय लालमटियाबाट एक जना छात्र र एक जना छात्राले एसइई परीक्षा दिन थालेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस