काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारका राम्रा नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिँदै आवश्यकता र सम्भावनाहरूको सन्तुलन मिलाएर आगामी बजेटलाई प्राथमिकता दिइने बताउनुभयो ।
सभामा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री मन्त्री पुनले सुशासन, सामाजिक न्याय र समृद्धिसहितको योजनाहरूको कार्यान्वयनबाट समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासका लागि ठोस आधार तयार हुने बताउनुभयो ।
अर्थमन्त्री पुनले आगामी वर्षको बजेट १६औँ योजनाको पहिलो वर्षको प्रमुख कार्यक्रमहरू कार्यान्वयनको वर्ष हुने पनि उल्लेख गर्नुहुँदै उत्पादन र उत्पादकत्वमा जोड दिई रोजगारी वृद्धि गर्ने कार्यक्रम ल्याइने बताउनुभयो ।
उहाँले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीहरू समाधान गर्न सरकारको साझा न्यूनतम कार्यक्रम तथा साझा सङ्कल्पको कार्यान्वयनमा बजेट केन्द्रित रहने भन्नुहुँदै यसले शिथिल अर्थतन्त्रलाई नयाँ गति दिई मिटरव्याज, लघुवित्तका समस्या समाधान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
अर्थमन्त्री पुनले उत्पादन, उपभोग, लगानीदेखि व्यापारमा देखिएका समस्या हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिई निजी क्षेत्रलाई विश्वासमा लिई अघि बढ्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।


