बुद्धजन्मस्थलबाट १२५० जना भिक्षुहरुको धम्मयात्रा सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा शनिबारदेखि शुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा शुरु गरेका हुन् भने यात्रा दुई दिनसम्म हुनेछ ।

श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी यात्रा शुरुवात गराएका हुन् । लुम्बिनीबाट शुरु भएको धम्मयात्रा भैरहवामा र आईतबार नवलपरासीको रामग्राममा गरिनेछ ।

लुम्बिनीमा धार्मिक गतिविधि बढ्दो बुद्धशिक्षालाई प्रवर्ध्दन गर्ने कोषका कोषाध्यक्ष भट्टराईले बताउनुभयो । उहाँले धम्मयात्राले समुदायतहसम्म बौद्धशिक्षालाई अघि बढाउने बताउनुभयो ।

अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सहआयोजनामा फागुन १६ गतेदेखि १२ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराईएको हो । भिक्षुहरुको जीवनमा धम्मयात्रालाई निकै महत्वपूर्ण मानिने र समुदायतहसम्म बौद्ध शिक्षालाई पुर्‍याउने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।

अल्पकालीन भिक्षुहरूले पहेंलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्णरूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्नेछ ।

धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्मयात्राको अर्थ कुशल कर्म तिर लाग्नु वा कुशल कर्मसँगै प्रस्थान गर्नु हो । फागुन २६ गते अल्पकालीन भिक्षुहरूलाई प्रवज्या गराई पहेँलो चीवर प्रदान गरेका हुन् ।

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस