तुलसीपुर । तुलसीपुरमा रगतको अभाव हुन नदिने उद्देश्यले खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भन्ने उद्देश्यका साथ एचआर मिडिया हाउस प्रालिको आयोजना तथा ग्लोबल ओरेन्स नेपाल तुलसीपुरको सहकार्यमा शनिबार तुलसीपुरमा रक्तदान कार्यक्रम गरिएको हो ।
मिडिया हाउसका प्रबन्धक एचआर मगरको अध्यक्षता तथा शान्तिनगर गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एवम् युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे (अरुण)को विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले यस मिडिया हाउसले समाजमा गरेको मानवीय कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले संस्थाले आयोजना गरेको कार्यक्रममा पहिलो पटक रक्तदान गरेको बताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बस्नेतले मानवीय सेवामा स्थानीय सरकारको पनि महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । साथै आगामी दिनमा पालिकाले यस्ता खालका कार्यमा सहकार्य गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
त्यस्तै युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे (अरुण)ले रक्तदान नै जीवन दान भएको उल्लेख गर्नुभएको छ । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका लहरेले जिल्लाको पश्चिम क्षेत्रमा रगतको कमी हुन नदिने उद्देश्यले गरिएको कार्यक्रमको प्रशंसा गर्दै उहाँले युवाहरुलाई यस्ता खालका सामाजिक कार्यहरुमा अग्रसर हुन प्रेरणा मिल्ने समेत बताउनु भयो ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तिशिखा चौधरी, लायन्स क्लब अफ क्यापीटल दाङका अध्यक्ष दिपक केसी लगायतले सामाजिक कार्यमा मिडिया हाउसले खेलेको भूमिकाको प्रशंसा गर्नु भएको थियो ।
ग्लोबल ओरेन्स नेपाल तुलसीपुरका प्रमुख मनोज चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गायक तथा उद्घोषक शान्ताराम सेन्चुरीले गर्नु भएको थियो ।
तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाँउ स्थित युथ्स अफ तुलसीपुरको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् ।


