खप्तडी बस्नेतको अध्यक्ष पदमा पुन: डिल्लीबहादुर बस्नेत

खप्तडी बस्नेत वशावली अनुसन्धान तथा उत्थान समिति केन्द्रीय कार्यसमितिको ७औं अधिवेशनले डिल्लीबहादुर बस्नेतलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

शनिवार केन्द्रीय कार्यालय हेमन्तपुरमा सम्पन्न ७औँ अधिवेशनले तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा डिल्लीबहादुर बस्नेत, उपाध्यक्षमा प्रेमबहादुर बस्नेत, सचिवमा दलबहादुर बस्नेत, कोषाध्यक्षमा केशव बस्नेत र सहसचिवमा ओमप्रकाश बस्नेतलाई सर्वसम्मत निर्वाचित गरिएको निर्वाचन समितिका संयोजक राजेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् । डिल्लीबहादुर बस्नेत पुन:अध्यक्ष पदमा सर्वसम्मत भएका हुन् ।

सदस्यमा देवा बस्नेत, सीता वस्नेत, जगत बस्नेत, शेरबहादुर बस्नेत, निमबहादुर बस्नेत र रुपलाल बस्नेत सर्वसम्मत चयन भएका छन् ।
समितिका अध्यक्ष डिल्लीबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भेलाले राजेन्द्रबहादुर बस्नेत संयोजक रहेको निर्वाचन समितिमा सुशील बस्नेत र सूर्यबहादुर बस्नेतलाई सदस्य पदमा जिम्मेवारी दिएको थियो । सोही अनुरुप अधिवेशनले एघार सदस्यीय कार्यसमिति चयन गरेको हो । नव निर्वाचित कार्यसमितिले १ जना उपाध्यक्ष र २ जना सदस्यलाई मनोनित गर्ने निर्वाचन समितिका सदस्य सुशील बस्नेतले जानकारी दिए ।

१६ औं साधारणसभा तथा ७औं अधिवेशन अध्यक्ष डिल्लीबहादुर बस्नेतको अध्यक्षता एवम लम्बिनी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जानकीलाल बस्नेतको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको हो । उक्त अवसरमा प्रमुख अतिथि बस्नेतले खप्तडी बस्नेतले नेपाल एकीकरणमा गरेको योगदानको चर्चा गर्नु हुदै अब पनि इतिहास लेख्ने गरी बस्नेत बन्धुहरूले योगदान गर्नु पर्नेमा जोड दिए ।

खप्तडी बस्नेत वंशावली प्रकाशन समितिका संयोजक तेजबहादुर बस्नेतले वंशावलीको महत्वको बारेमा चर्चा गरेका थिए । कार्यक्रमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक रमेश बस्नेत, राजपुर गाउँपालिका वडा नम्बर ७ का सदस्य प्रमोद बस्नेत, शिक्षक महासंघका जिल्ला अध्यक्ष युवराज बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए । सचिव दलबहादुर बस्नेतले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष केशवबहादुर बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजीकरण उपाध्यक्ष प्रेमबहादुर बस्नेतले स्वागत मन्तव्य र सचिव दलबहादुर बस्नेतले व्यक्त गरेका थिए । २०६३ सालमा औपचारिक रूपमा दर्ता गरिएको खप्तडी बस्नेतले वंशावली प्रकाशन गर्नुका साथै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ स्थित हेमान्तापुरमा १ विगाह १० कठ्ठा जमिनमा कुलमन्दिर, शिवमन्दिर, गणेशमन्दिर, भुवनेश्वरी देवीको मन्दिर, एउटा सभाहल र गोदाम हल निर्माण गरिसकेको छ भने चारैतिर पर्खाल निर्माण गरिसकेको छ । हालसम्म दाङ जिल्ला र आसपासका जिल्लाका गरी २ सय ५३ जनाले आजीवन सदस्यता लिएका खप्तडी बस्नेत वंशावली अनुसन्धान तथा उत्थान समिति केन्द्रीय कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस