नेपालद्वारा नामिबियालाई १८१ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाअन्तर्गत आजको खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै र कुशल मल्लको अर्धशतकमा १८० रनको योगफल बनायो ।

नेपालका लागि कुशल मल्लले ३७ बल खेल्दै एक चौका र चार छक्काको मद्दतमा ५५ रन बनाए । कुशलले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ८५ रनको साझेदारी गरे । आरिफले आउट हुनुअघि २४ बलमा चार चौकाको सहायताले ३१ रन जोडे ।

त्यस्तै गुलशन झाले १६ बल खेल्दै एक चौका र तीन छक्काको सहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा तीन छक्काको मद्दतमा २३ रन जोडे । दीपेन्द्रसिंह ऐरी आठ बलमा दुई चौका प्रहार गर्दै १६ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल नौ बलमा दुई चौका प्रहार गर्दै १० रनमा आउट भए । त्यस्तै सुरुआती ब्याट्सम्यान आसिफ शेख एक रनमा आउट हुँदा करण केसीले सात तथा सोमपाल कामी दुई रनमात्रै बनाए ।

बलिङतर्फ नामिबियाका बेन शिकाङगोलले तीन विकेट लिए भने ज्याक ब्रेसलले दुई विकेट झारे । त्यसैगरी बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनले समान एक/एक विकेट लिए ।

नेपाल फाइनलमा पुग्नका लागि नामिबियालाई पराजित गर्नैपर्ने हुन्छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस