तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाभित्र साठी हजार छ सय ६४ जना बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप दिन थालिएको छ ।
फागुन २२ गतेदेखि चैत ४ गतेसम्म ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप दिन थालिएको हो । सबैभन्दा बढी वडा नम्बर ६मा १३ हजार बालबालिकालाई खोप दिन थालिएको हो ।गतवर्ष दाङ जिल्लामा ३९ जनालाई दादुरा रोग देखिएको थियो भने तुलसीपुर उपमहानगरपालिकामा मात्रै ११ जनामा देखा परेको थियो ।

बाल रोग विशेषज्ञ डाक्टर किशोर खत्रीका अनुसार एक जना दादुरा रोगको बिरामीबाट १८ जनासम्मलाई सर्ने गरेको छ । जनस्वास्थ्य प्रवर्धन शाखाका सम्पर्क व्यक्ति विमल केसीका अनुसार गतवर्ष ५७ हजार लक्ष्य राखिएकोमा ५६ हजार सात सय ४४ जना अर्थात ९९.६ प्रतिशत बालबालिकालाई खोप लगाइएको थियो । उहाँका अनुसार एड्स,क्षयरोग,उच्च ज्वरो आएको अवस्थामा बाहेक अन्य अवस्थामा बालबालिकाहरुलाई खोप दिन सकिनेछ ।
नगरप्रमुख टीकाराम खड्काले नेपाल सरकारले नै थालको अभियानमा स्थानीय सरकारको तर्फबाट खोेप अभियानलाई पूर्णरुपमा सफल पार्नका लागि सम्पूर्ण जनशक्ति तयार पारिएको बताउनुभयो । उहाँले खोप अभियानलाई सम्पूर्ण अभिभावकहरुले सहयोग गरे मात्रै बालबालिका स्वस्थ हुने बताउनुभयो । यसैबीच दादुरा रुबेला खोप अभियानका विषयमा सरोकारवाला,सञ्चारकर्मीबीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बाल रोग विशेषज्ञ डाक्टर किशोर खत्री, स्वास्थ्य जनप्रवर्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका सम्पर्क व्यक्ति विमल केसीले गर्नुभएको थियो ।


