उपचार सेवा लिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टोकन प्रणाली लागू

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवालाई छिटोछरितो र भरपर्दो, व्यवस्थित बनाउने उद्देश्यले टोकन प्रणाली सुरु भएको छ। प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले रिवन काटेर टोकन प्रणालिको सुरुवात गरे।

उपकुलपति डा. लामिछानेले सेवालाई व्यवस्थित र छिटो छरितो बनाउन टोकन प्रणालीले सहयोग पुर्‍याउने बताए। अबदेखि बिरामीको पालो मिचिने गुनासो पनि अन्त्य हुने बताए। अस्पतालमा उपचारका लागि आउने बिरामीहरूले अबदेखि आफूले लिन चाहने सेवा ओपिडी, स्वास्थ्य बीमा र बिलिङ काउन्टरका लागि नाम दर्ता गरी टोकन लिई बस्नुपर्ने छ।

प्रतिष्ठान स्थापना भएपछि पहीलोपटक टोकन प्रणाली लागू गरिएको अस्पतालका सूचना अधिकारी निशान भट्टराईले बताए।

उनले अस्पतालको सेवा लिनका लागि सुरुमा टोकन लिई पालो कुर्न र कुनै कारणवस पालो कटेमा नयाँ टोकन लिएर नयाँ पालो कुर्नुपर्ने जानकारी दिए।

टोकन प्रणाली उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कँडेलसहित विभिन्न विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारीहरू र लक्ष्मी बैंक घोराही र सिद्धार्थ बैंक घोराहीका बैंक म्यानेजरहरूको उपस्थिति रहेको थियो।

टोकन प्रणाली जडित मेसिन घोराहीस्थित सिद्धार्थ बैंकले सौजन्य गरेको छ भने लक्ष्मी बैंक, घोराहीले ६ वटा काउण्टरको लागि डिजिटल बोर्ड र एनाउन्सका सामग्री सहयोग गरेको छ।

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस