सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा पाँच महिनादेखि तालाबन्दी छ।
सत्तारूढ दलनिकटका प्राध्यापकहरू र विद्यार्थीहरूले विभिन्न माग राखेर विश्वविद्यालयमा तालाबन्दी गरेका हुन्। उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र प्राध्यापक तथा विद्यार्थीहरूबीच कुरा नमिल्दा विश्वविद्यालयमा तालाबन्दी छ।
उपकुलपति पौडेलले कार्यविधिविपरीत सम्बन्धन र कार्यक्रम थप गर्ने अनुमति दिन लागेको भन्दै प्राध्यापकहरू र विद्यार्थीले असहमति जनाएका थिए।
विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले केन्द्रीय कार्यालयमा लागेको ताला खोल्न सोमबार अपिल जारी गरेका छन्।
सत्तारूढ दलनिकटका प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र एकीकृत प्रगतिशील प्राध्यापक संगठनसहित नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूले विश्वविद्यालयमा तालाबन्दी गरेका छन्।
तालाबन्दीका कारण शैक्षिक, प्रशासनिक र आर्थिक कामकाज ठप्प भएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका उपकुलपतिको बिदाइ कार्यक्रम फागुन १५ मा राखिएको र त्यसका लागि पनि केन्द्रीय कार्यालयको तालाबन्दी खोल्न रजिस्ट्रार पौडेलले अपिल गरेका हुन्।
यसैबीच सर्वोच्च अदालतले फागुन ११ गते उत्प्रेषण आदेश दिँदै विश्वविद्यालयलाई यथावत् रूपमा कामकाज गर्न दिनू भन्ने आदेश गरेको रजिस्ट्रार पौडेलको भनाइ छ।



