नेतृत्वमा किशोर किशोरी

सक्राम । तुलसीपुर १९ भित्री सक्राममा किशोर किशोरीलाई नेतृत्वमा ल्याउनका केहीलाई वडाध्यक्ष केहीलाई वडा सदस्यको भूमिकामा देखाउँदै हुनुहुन्थ्यो युवा गणेश भण्डारी । उहाँले नेतृत्वकर्ताले अन्य सदस्यलाई गर्नुपर्ने व्यवहारका विषयमा केही नाटक त केही कथाबाट प्रस्ट्याउँदै हुनुहुन्थ्यो । नेतृत्वमा आएपछि आएका चुनौती, समस्यालाई समाधान गर्ने उपाय समेत उहाँले बताउँदै हुनुहुन्थ्यो ।

तुलसीपुर उपमहानगरपालिका, नगरस्तरीय युवा सञ्जाल,सहायता केन्द्र नेपाल, नव जागरण महिला तथा बाल संरक्षण केन्द्र, नगरस्तरीय बाल सञ्जालले संयुक्तरुपमा पालिकाका १९ वटै वडाका किशोर किशोरीहरुलाई नेतृत्वमा ल्याउनका लागि प्रशिक्षण दिदै आएको छ ।

यसैबीच तीन दिने प्रशिक्षण कार्यक्रमको मंगलबार समापन गरिएको छ । वडास्तरीय बालसञ्जालका अध्यक्ष शुभम देवकोटाको अध्यक्षता एवम वडा नम्बर १९का वडा सदस्य रामबहादुर पौडेलको प्रमुख आतिथ्यता तथा नगर प्रमुखका प्रेस संयोजक गोकर्ण पौडेलको विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागि मीना खड्काले विद्यालयस्तरमा गठन गरिने बाल क्लबका लागि बजेटको व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको थियो । त्यस्तै प्रताप घर्तीले किशोर किशोरीलाई नेतृत्वमा ल्याउनका लागि विद्यालयबाटै त्यस किसिमको वातावरण सिर्जना गर्नका लागि उत्प्रेरित गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १९का वडा सदस्य रामबहादुर पौडेलले बालबालिकाहरुका लागि वडाबाट बजेटको व्यवस्थापन हुँदै आएकोबताउँदै त्यसलाई सहीरुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि गोकर्ण पौडेलले ज्ञानबाटै नेतृत्व प्राप्त गर्न सकिने भन्दै पढाईलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । माध्यमिक विद्यालय भित्री सक्रामका प्रधानाध्यापक डिल्ली खत्रीले किशोर किशोरीलाई नेतृत्वमा ल्याउनका लागि अभिभावक,जनप्रतिनिधि,विद्यालय सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

प्रशिक्षकहरुका तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाका अधिकृत विमल केसी, युवा सञ्जालका अध्यक्ष गणेश भण्डारी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस