तुलसीपुर महोत्सवमा भरिभराउ स्टल, शनिबार धुर्मुस र सुन्तली आउँदै

तुलसीपुर । तुलसीपुर महोत्सव–२०८० मा शुक्रबार अधिकांश स्टलहरुमा भीडभाड देखिए भने २ बजेपछि महोत्सवमा दर्शकको संख्या पहिलेको तुलनामा दोब्बर बृद्धि भएको आयोजकले जनाएको छ । शुक्रवार मात्रै करिब २० हजार दर्शकले मेला अवलोकन गरेका छन् ।

केही दिन यता महोत्सवमा सामग्री खरिदको गति तीब्र भएको छ । आज सामान किनबेच हालसम्मकै बढी भएको बाणिज्य सघंका कार्यालय प्रमुख पारेश्वर भट्टराईले बताए । उनले भने– ‘फेन्सी, सिरक डसना, जुत्ता, चप्पल, भाँडाकुँडा, सर्फ साबुनलगायत दैनिक उपभोग्य तथा घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामग्रीहरुका स्टलमा बढी भिडभाड देखिएको थियो ।’ महोत्सवमा स्थानीय कलाकारहरुको प्रस्तुति रहँदा आधाभन्दा बढी दर्शकहरु स्टलको किनमेलमा व्यस्त देखिन्थे ।

महोत्सवमा बुटवलबाट फेन्सीको स्टल ल्याएर आएका महेश श्रेष्ठ पनि अन्य दिनको तुलनामा आज अलिबढी व्यस्त देखिए । तीन दिन यता व्यवसाय दिन प्रतिदिन बढिरहेको उनले जानकारी दिए ।’ उनले भने– ‘व्यापार शुरुवाती चरणमा पनि सन्तोषजनक नै थियो । मेला समापन हुने दिन नजिकिदै छ । त्यसकारण पनि व्यापार बढ्दो छ ।’

साँझ ५ बजेपछि प्रितिले तताइन माहोल

करिब ५ बजेतिर शुक्रवारको महोत्सवको मुख्य आकर्षण प्रिति आले स्टेच चढिन् । चिसो मौसममा सेलाउँदै गएको माहोल पुनः तात्यो । मोर्डन टाइपका गायन प्रस्तुतिमार्फत युवापुस्तामा लोकप्रिय गायिका आलेको प्रस्तुति अवधिभर युवाहरुको उत्तेजित भीड सम्हाल्नै हम्मेहम्मे भयो । बाबरी म भोलि जाँदैछु, तिमी बस राम्ररी, सोल्टी राजाको, आच्छुछुछु जाडो, टुप्पी ठाडो, के छ माया जाल, आयो मेरो डिसलगायतका करिब एक दर्जन प्रस्तुति राखेकी गायिका अलेले दर्शकलाई करिब ७ बजेसम्म दर्शकलाई मेलामै झुमाइरहन सफल भइन ।

शनिवार धुर्मुस र सुन्तली आउँदै

तुलसीपुर महोत्सव–२०८० मा भोलि शनिबार चर्चित हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) आउँदै छन् । त्यस्तै अन्य कलाकारहरु गायक बिक्रम परियार, रोशन रत्गैया, सन्दिप सुनार, गायिका इब्सु सञ्ज्याल, डान्सर करिष्मा ढकाल र रञ्जिता पाण्डेको प्रस्तुति रहने सांस्कृतिक संयोजक रुपबहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस