उत्पादनमूलकतर्फको कोरियाली भाषा परीक्षा फागुन ७ गतेदेखि

काठमाडौं । आगामी ७ फागुनदेखि रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तरगत कोरियाली भाषा परीक्षा सुरु हुने भएको छ । एक सूचना जारी गर्दै ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फ जाने श्रमिकहरुको कोरियन भाषा परीक्षा सुरु हुने जानकारी दिएको छ ।

परीक्षा हुनुभन्दा एक दिनअघि ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा परीक्षार्थीले बायोमेट्रिक (फिंगरप्रिन्ट) दर्ता गर्नुपर्नेछ । रजिष्ट्रेसन नम्बरको आधारमा तोकिएको मिति, समय र सिफ्टमा परीक्षार्थी उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । परीक्षाअघि बायोमेट्रिकका लागि २ घण्टा अगावै परीक्षा केन्द्रमा पुगिसक्नुपर्ने छ ।

सक्कल राहदानी र प्रवेशपत्र नभएकालाई परीक्षामा सामेल हुन नपाइने सूचनामा उल्लेख छ । सूचनाअनुसार परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीको यूबीटी भवनमा सञ्चालन हुनेछ ।

शाखाले परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिक्स्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको बताएको छ । परीक्षा हलमा एक घण्टाअघि नै ओरियन्टेसन सुरु हुनेछ र बायोमेट्रिक भरिफिकेसन पनि गरिने छ ।

परीक्षामा चिट, कपी गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्ने र ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गर्ने सूचनामा उल्लेख छ ।

यसपाली जहाज निर्माण (सिप बिल्डिङ)को भाषा परीक्षामा सहभागी भएकाहरु पनि उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा सहभागी हुँदैछन् । उत्पादनमूलतर्फ आवेदन दिएका १ लाख ६५ हजार भन्दा बढी आवेदक परीक्षामा सामेल हुँदैछन् । सिप बिल्डिङतर्फको परीक्षामा सहभागी भएका करिब २१ हजार २५४ जना परीक्षार्थीहरूले आवेदन भरेकोमा उनीहरु समेत यो परीक्षामा सामेल हुन पाउने गरी तालिका तय भएको हो ।

गत असारमा सिप बिल्डिङका लागि आवेदन दिएर बसेका परीक्षार्थीले समेत उत्पादनमूलक क्षेत्रमा पनि भाषा परीक्षा दिन पाउने गरी १६ पुसमा शाखाले आवदेन खुला गरेको थियो । त्यसअघि साउनमा भएको सिप बिल्डिङका लागि ईपीएस परीक्षामा ३५ हजार सहभागी भएकामध्ये ४ हजार मात्र उत्तीर्ण भएका थिए ।

त्यसपछि उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरेको थियो । सरकारले सिप बिल्डिङ क्षेत्रमा सहभागी भएकालाई पनि फारम भर्न खुला गरेपछि करिब २१ हजारले मात्रै आवेदन दिएका थिए । ती परीक्षार्थीलाई पनि परीक्षा दिन कोरियाले अनुमति दिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस