गोरखा मावि स्कुलको मितेरी साइनो

तुलसीपुर : नेपाली समाजमा व्यक्ति–व्यक्तिबीच मीत लगाउने चलन छ । दाङको तुलसीपुरमा भने विद्यालय–विद्यालयबीच मितेरी साइनो गाँसिएको छ । निजी र सरकारी विद्यालयबीचको यस्तो सम्बन्धको लाभ सरकारी विद्यालयका विद्यार्थीले लिइरहेका छन् । विद्यालयबीच मितेरी साइनोको सुरुवात कोरोनाकालमा भएको हो । तुलसीपुर उपमहानगरपालिका–६ मा पूर्वब्रिटिस लाहुरेहरूको संस्था गोर्खा ग्रुपले सञ्चालन गरेको निजी विद्यालय छ, गोर्खा मावि  विद्यालयका सञ्चालकहरूले कुनै सामुदायिक विद्यालयलाई सहयोग गरेर नमुना बनाउने योजना बनाए ।

तत्कालीन तुलसीपुर प्रमुख घनश्याम पाण्डेको समन्वयमा तुलसीपुर–३ स्थित मावि प्रतापकोट आम्बासलाई छाने । स्थानीय सरकारकै समन्वयमा २०७६ चैत ५ मा यी दुई विद्यालय मितेरी साइनोमा बाँधिए । त्यसपछि सुरु भयो तुलसीपुरको विकट पहाडी क्षेत्रमा रहेको सामुदायिक विद्यालय र तुलसीपुर सहरमा रहेको सुविधासम्पन्न निजी विद्यालयबीचको मितेरी यात्रा । पहाडबाट सहर पस्दा गाउँका खानेकुराका साथै विद्यालयका पूर्वाधार, शैक्षिक र आर्थिक समस्याहरू मीतलाई उपहारका रूपमा लिएर जान थाले । सहरबाट गाउँ पस्दा मितेरी विद्यालय बनाउने शैक्षिक जनशक्तिका साथै भौतिक सामग्री उपहार बोकेर जान थाले ।

कोराना महामारी र लकडाउन सकिएपछि गोर्खा मावि मितेरी स्कुल बनाउने काममा लागिपर्‍यो । बाल विकासका बालबालिका पढ्ने कक्षाकोठाको रंगरोगन, फर्निचर, टेलिभिजन, प्रोजेक्टरलगायतका सबै आवश्यक सामग्री जोडियो । बालबालिकालाई शैक्षिक सामग्री, खेलकुद सामग्री, पोसाकलगायत आवश्यक सामग्री सहयोग पुर्‍याइयो । अनि त मितेरी साइनो झनै प्रगाढ भयो । हेर्दाहेर्दै मितेरी साइनोले विद्यालयको स्वरूप नै फेरियो । जीर्ण भवनमा पढिरहेका विद्यार्थी सफा र सुन्दर कोठामा बसेर आधुनिक प्रविधिसँग परिचित भइरहेका छन् ।

श्री मावि प्रतापकोटका प्रधानाध्यापक टेकप्रसाद भण्डारीले निजी विद्यालयसँग मीत लगाएर सामुदायिक विद्यालय सुधार्दै गर्दा नौलो अनुभव भइरहेको सुनाए । ‘मीतले विभिन्न शैक्षिक, प्राविधिक र आर्थिक सहयोग गरेर हाम्रो विद्यालयको स्तर उकास्ने काम गर्नुभयो । यसले हामीलाई हौसला थपेको छ,’ उनले भने । सल्यानको सीमा क्षेत्रमा रहेको २ सय २४ जना विद्यार्थी पढ्ने यो विद्यालयमा दैनिक ६ घण्टा हिँडेर विद्यार्थी पढ्न आउने गरेको उनले बताए । ‘यस क्षेत्रको एक मात्र माध्यमिक विद्यालय हो । दैनिक ३ घण्टा जाने, ३ घण्टा आउने गरेर ६ घण्टा हिँडेर विद्यार्थी पढ्छन्,’ उनले भने, ‘विकट पहाडी क्षेत्र भएकाले विद्यालयमा सबै स्रोत साधन नभएर समस्या थियो । अहिले सुधार भएको छ ।’

गोर्खा माविले मावि प्रतापकोटबाट एसईई उत्तीर्ण गरेका मध्ये उच्च अंक प्राप्त गर्ने एक छात्र र एक छात्रालाई १२ कक्षासम्म निःशुल्क पढाउने निर्णय गरेको छ । विद्यालयका लागि आवश्यक फर्निचरको व्यवस्था गरिदिने भएको छ । गोर्खा ग्रुपका प्रशासनिक संयोजक दुर्गाबहादुर केसीले शिक्षकहरू पनि आपूर्ति गर्ने निर्णय भएको बताए । ‘निजी विद्यालय भनेपछि कमाउने उद्देश्यले खुलेको भन्ने सोचाइ छ । सामुदायिक र निजी विद्यालयको प्रतिस्पर्धाको भावना छ,’ उनले भने, ‘हामी सामुदायिक विद्यालय बनाउने काममा योगदान गर्दै छौं । दुवै विद्यालयको उद्देश्य शैक्षिक विकास भएकाले हामी विकट क्षेत्रको विद्यालयको स्तर सुधार्न मिलेर काम गरिरहेका छौं ।’

प्रतापकोट स्कुल बनाउन गोर्खा ग्रुपले नै सञ्चालन गरिरहेको गोर्खा मोडेल कलेजमा बीबीएस अध्ययनरत विद्यार्थीले पनि सहयोग गरिरहेका छन् । गोर्खा विद्यार्थी क्लबका अध्यक्ष पारस न्यौपानेले आफूसहितका विद्यार्थीले फूल खेती गरेर बिक्री गरेको र त्यसबाट बचत भएको रकम पनि मीत स्कुललाई सहयोग गरेको बताए । जिल्लामा गोर्खा ग्रुपले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा काम गरिरहेको छ । लाहुरेहरूले पढ्न नपाए पनि नयाँ पुस्ता गुणस्तरीय शिक्षाबाट वञ्चित नहोस् भनेर गाउँका विद्यालयलाई सहयोग गर्ने गरेको गोर्खा ग्रुपका उपाध्यक्ष विष्णुप्रसाद घर्तीले बताए । गोर्खा ग्रुपले घोराही उपमहानगरपालिका–१९ सैघास्थित मावि होडबाङलाई पनि यस्तै सहयोग गरेर नमुना स्कुल बनाएको छ ।

निजी विद्यालय सामुदायिक विद्यालय बनाउन मितेरी साइनो जोड्दै आएपछि अभिभावकमा पनि उत्साह छाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लीलामणि बाँठाले बताए । मितेरी स्कुलको अवधारणाले सामुदायिक विद्यालयको स्तर सुधार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तुलसीपुरका प्रमुख टीकाराम खड्काले बताए । ‘हामी यस अभियानलाई अन्य विद्यालयमा पनि विस्तार गर्छौं,’ उनले भने ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस