राजपुरस्थित गौरिशंकर माविको विव्यस अध्यक्षमा जगेन्द्र राना निर्वाचित

देउखुरी । राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकास्थित गौरिशंकर माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति (विव्यस)को लागि भएका निर्वाचनबाट जगेन्द्र रानाको प्यानल विजयी भएको छ । बुधबार भएको निर्वाचनबाट निर्वाचित हुनेमा अध्यक्ष जगेन्द्र राना, सदस्यहरु गौसरी खड्का, प्रदिप विक, सुनमाली कँवर, मिना विक, बालाराम गिरी रहेका छन् ।

निर्वाचनमा कुल ९३ मतदाता मध्ये ८१ मत खसेको थियो । जगेन्द्र रानाको प्यानलको पक्षमा ४० मत र विपक्षमा ३८ मत खसेको थियो भने ३ मत बदर भएको हो । लामो समयदेखि गौरिशंकर माध्यमिक विद्यालय विव्यसको नेतृत्वविहीन थियो । विद्यालयमा अभिभावक भेलाबाट सर्बसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको हो ।

विद्यालय विव्यसविहीन हुँदा विद्यालयको शैक्षिक तथा पूर्वाधारको विकास हुन सकेको थिएन । नवनिर्वाचित विव्यसका अध्यक्ष जगेन्द्र रानाले विगतमा विद्यालयमा भएका गलत गतिविधिको अन्त्य गर्दै आफ्नो कार्यकालमा शैक्षिक गुणस्तरलाई सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्षको कार्यभार सम्हाल्दै रानाले आफ्नो कार्यकालमा विद्यालयमा शिक्षक तथा विद्यार्थीको अनियमिततालाई नियमित गराउने, शैक्षिक गुणस्तरता बृद्धि गर्न पहल गर्ने, चाडै नै विद्यालयको सामाजिक लेखा परीक्षण गराउने प्रतिबिद्धता जनाएका छन् । शैक्षिक गुणस्तरलाई बृद्धि गर्नुका साथै भौतिक पूर्वाधारलाई विकास गर्न सबै क्षेत्रबाट पहल गर्ने अध्यक्ष रानाले बताए ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस