तुलसीपुर । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको ५३ औँ वार्षिक उत्सव तथा अभिभावक समारोह कार्यक्रम आज सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता तथा पूर्व प्रतिनिधि सभा सदस्य सुजिता शाक्यको प्रमुख आतिथ्यता एवम् नेकपा एमालेका केन्द्रीय सदस्य कोमल वली र घनश्याम पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरीले पालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षामा जोड दिएको बताउनुभयो । उहाँले पालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई विभिन्न समयमा तालिमहरु पनि दिदै आएको बताउनुभयो ।
उपप्रमुख चौधरीले शिक्षा सबैको लागि आवश्यक भएकाले पालिकाले शिक्षाको लागि सबैभन्दा धेरै बजेट छुट्याएको बताउनुभयो । उहाँले पालिकाले गत वर्ष २२ वडा सामुदायिक विद्यालयमा ८ कोठे भवण निर्माण गरेको जानकरी दिनुभयो । तुलसीपुरमा रहेका ८३ वडा सामुदायीक विद्यालय र ६४ वटा संथागत विद्यालय रहेको छ ।

तुलसीपुर नगर शिक्षा समितिका सदस्य तथा अमर माद्यमिक विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले सामुदायिक विद्यालयलाई संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न चुनौति थपिएको बताउनुभयो । गुणस्तरीय शिक्षाको लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुको साथ सहयोग चाहिने उहाँको भनाई छ । पछिल्लो समय विद्यार्थीहरुमा बढ्ने बानिको विकास कम हुँदै गएकोले अभिभावकहरुले निगरानी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिवालयमा सदस्य धनिराम केसी, शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारी, वडा ६ का वडाअध्यक्ष दुजमान भण्डारी, १८ का वडाअध्यक्ष माधव वली, मानव अधिकारकर्मी तथा पत्रकार सुशिल बस्नेत, पत्रकार संगित बस्याल, मावि उरहरीका प्रधानाध्यापक पदम वली, विद्यार्थी राजु विश्वकर्मा लगायतले बोलेका थिए ।

विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालयको आयव्यय प्रगति प्रतिवेदन प्रस्तुत गदै विद्यालय अथक मेहनतका साथ मेगा विद्यालयको रुपमा परिनत भएको बताउनुभयो । उहाँले विद्यालय यहाँसम्म आउनुमा शिक्षक, विद्यार्थी र अभिभावक सबैको सहयोग रहेको बताउनुभयो ।
विद्यालयमा ६० वटा सिसिटिभिको निगरानीमा रहेर विद्यार्थीहरुले अध्ययन अध्यापन गरिने हुनाले हरेक अविभावकलाई विद्यार्थीहरुको बारेमा बुझ्ने वातावरणको व्यवस्था भएको जानकारी गराइएको थियो ।

विद्यालयको १३ वटा बैँकमा रहेका खातामा २२ करोड, ११ लाख, ७३ हजार, ३ सय ३० रुपैयाँ २३ पैसा बचत रहेको आर्थिक प्रतिवेदनमा जानकारी गराइएको थियो ।
विद्यालयमा हाल २ हजार ४ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् भने ८२ जना शिक्षकहरुले अध्यापन गराइरहेका छन् । कार्यक्रममा विद्यालयप्रति योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो भने विद्यार्थीहरुले मनोरञ्जनात्मक गीत तथा नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेश रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक भोला पौडेलले गर्नुभएको हो । वि.स. २०२७ सालमा स्थापना भएको विद्यालयले अन्य विषय सहित विभिन्न प्राविधिक धारको पढाइलाई जोड दिदै आएको छ ।


