तुलसीपुर । तुलसीपुरमा रहेको एक आइएमईबाट नगद चोरी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ पिपलबोट स्थित रहेको गण्डकी एग्रो सप्लायर्स (आइएमई)बाट चोरी भएको हो ।
चोरले सोमबार राती आइएमईबाट ३ लाख ४६ हजार ७ सय ७० नगद चोरी गरेको संचालक डिलाराम बुढाथोकीले जानकारी दिनुभयो । चोरले राती करिब ९ बजेतिर चोरी गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सिसिटीभि फुटेजमा चोर राती १० बजेर ४७ मिनेटमा चोरेर आइएमइबाट निस्केको देखिएको छ । चोरले ताला काटेर चोरी गरेको हो । आइएमइसँगै सटेको घर र पिपलको रुखको सहारामा चोरी गरेको देखिएको संचालक बुढाथोकीले बताउनुभयो ।
सिसिटीभि फुटेजमा चोरले सेता जुता, मास्क लगाएको, मोबाईल समातेको देखिएको छ । प्रहरीमा मंगलबार दिउँसो जाहेर दिए पनि प्रहरीले कुनै चासो नदिएको संचालक बुढाथोकीले बताउनुभयो ।
घटना भएको स्थान तुलसीपुरको मूख्य ठाउँ भए पनि सुरक्षा व्यवस्थामा प्रहरी फेल भएको संचालक बुढाथोकीले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले घटनामा संलग्न चोरको पहिचानका लागि अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले सिसिटीभि फुटेजमा मानिस प्रष्ट नदेखिएका कारण पनि समस्या भएको बताउनुभयो ।


