तुलसीपुर । दाङमा श्रीमानले रड प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
तुलसीपुर उपमहागनरपालिका वडा नं ४ तल्लो हलवार निवासी ४३ बर्षीय पेण्डुवा चौधरीले आफ्नै श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई स्टिलको रडले टाउँकोमा प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
चौधरी धेरै मदिरा सेवन गर्नुका साथै घरायसी विवाद हुँदा घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटना शनिबार बेलुका ६ बजेको समयमा भएको हो । श्रीमतीको हत्या पछि अबस्था बुझ्न त्यहाँ पुगेका स्थानीयहरुलाई पनि उनले रड प्रहार गरेका छन् ।
स्थानीय मिना थापा र शिला चौधरीलाई रड प्रहार गर्दा उनीहरु घाइते भएका छन् । मिनाको टाउकोमा चोट लागेको छ, भने शिलाको हड्डीमा चोट लागेको छ । दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
रड प्रहार गर्ने चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक लक्ष्मीलाई पोस्टमाटमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।


