तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको प्राकृति स्रोत साधन तथा अनुगमन समितिले आफूहरूको विरुद्धमा सामाजिक सञ्जाल तथा बाहिर आएको कुराहरूको आपत्ति जनाएको छ । गत पुस २६ गते ट्याक्टर व्यवसायीहरूले र सामाजिक सञ्जालमा आफूहरूलाई पैसा खाएर ट्याक्टर छोडेको भन्ने आरोप लगाएको कुरा सत्यता नभएको बताएको छ ।
बिहीबार उपमहानगरका समितिले पत्रकार सम्मेलन गरी आफूहरूले कुनै गल्तीहरू नगरेको र आफूमाथि लागाइएको आरोप सत्य नभएको बताएको छ । समितिका संयोजक तथा तुलसीपुर वडा १४ का वडाध्यक्ष शंकर कुमार खड्काले अवैध रुपमा ढुंगा ल्याएको ट्याक्टरलाई नियन्त्रण लिएर आफूहरूले राजश्व उठाउँदा समेत आफूहरूको बदनाम गर्न खोजेको भन्दै आपत्ति जनाउनु भएको छ । पक्राउ गरिएका ट्याक्टरलाई राजश्व तिराएर छोडेको र राजश्व तिरेको प्रमाण आफूसँग रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘राजश्व नतिरेका ट्याक्टरहरूलाई हामीलाई नियन्त्रणमा लिएका थियौँ । राज्यलाई राजश्व छल्न हामीलाई आरोप लगाइएको थियो । हामीले मेयर सापलाई अनुसन्धान गर्न दिएका थियौँ । तर, हामीले त्यस्तो गल्ती नै गरेका छैनौँ । राम्रो काम गर्दा हामीलाई बदनाम गर्न खोजेकोमा हाम्रो आपत्ति छ ।’ उहाँका अनुसार समितिले अवैध रुपमा ढुंगा, गिट्टी बालुवा बोक्ने गाडी र अवैध रुपमा ढुंगा, गिट्टी बालुवा थुपारेको नियन्त्रण लिएर हालसम्म ४० लाख राजश्व संकलन गरेको छ । यस्तै समितिका सदस्य एवं तुलसीपुर वडा १६ का वडाध्यक्ष शिवानन्द डाँगीले पनि बाहिर आएको कुरा गलत भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यदि हामीले प्रहरी वा कुनै पनि ट्याक्टर धनीसँग सेटिङमा काम गरेको भए आज राजश्व यति धेरै उठ्ने थिएन होला । हिजोको दिनहरूमा भन्दा पुस मसान्तसम्म राजश्व सङ्कलनबाट प्रष्ट हुन्छ, हामीले कुनै बेमानी गरेका छैनौँ । बरु हामीलाई बदनाम गर्न खोजियो ।’ आफूहरू सयौँ गाडीहरू दिनरात अहोरात्र खटेर पक्राउ गर्दै आइरहेको भन्दै उहाँले हिजोका दिनहरूमा सेटिङमै काम गर्न नपाएकाहरू अहिले छटपटाइरहेको समेत बताउनु भयो ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख टिकाराम खड्काले समितिका पदाधिकारीहरू अहोरात्र खटेर अवैध रुपमा काम गर्ने गाडीहरू नियन्त्रण लिएर राजश्व संकलन गर्ने काम गरेको बताउनु भयो । अहिले बाहिर हल्ला आएको जसरी समितिले कुनै पनि सेटिङमा काम नगरेको समेत उहाँले दाबी गर्नुभयो ।

यस्तै आफूहरूले जिम्मेवारी दिएका व्यक्तिहरूले गलत गरेको भेटाएमा कारबाही गर्ने समेत उहाँले बताउनु भयो । यस्तै उहाँले आफूहरूले गरेको कामलाई उपमहानगरका जनप्रतिनिधिहरूले साथ नदिएको समेत आरोप लगाउनु भयो । यस्तै उपमहानगरले अबैध रुपमा खोलाबाट गिट्टी, बालुवा उठाउने ट्याक्टरलाई २५ हजार, टिपरलाई ५० हजार र स्काइभेटरलाई ५० हजार जरिवाना स्वरुप राजश्व तोकेको समेत उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यदि कुनै गाडिले पहिलो पटक पक्राउ गरेको खण्डमा हामीले तोकेको राजश्व संकलन गर्छौँ । यदि त्यहि गाडि फेरि भेटिएको खण्डमा जरिवाना डबल, त्रिपल हुन्छ ।’ यस्तै उहाँले उपमहानगरले विगतका वर्षहरुमा ठेक्दारहरुलाई उत्खनन गर्ने जिम्मा दिँदा तोकेको मापदण्ड भन्दा धेरै उठाएर पहाड बनाउने प्रचलन रहेको बताउनु भयो ।
अहिले उपमहानगरले १२ ठाउँमा आइई गरेको र १३ ठाउँमा आइई गर्ने प्रक्रियामा रहेको समेत बताए । गत पुस २६ गते केही ट्याक्टर व्यवसायीहरूले उपमहानगरले आफ्ना ट्याक्टरहरू नियन्त्रण लिएर आफूहरूलाई दुख दिएको भन्दै उपमहानगरको गेटमा नाराबाजी गर्दै तालाबन्दी गरेका थिए, भने समितिलाई विभिन्न किसिमका आरोप समेत लगाएका थिए ।


