काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा प्रस्थान गर्नुभएसँगै उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ युगाण्डाको राजधानी कम्पालामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।



