तुलसीपुर । तुलसीपुरमा अर्गानिक कृषि पत्रकारिता तालिम सुरु भएको छ । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङको आयोजनामा एक दिने कृषि सम्बन्धी पत्रकारिता तालिम सञ्चालन गरिएको छ ।
केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन गर्दै नगरप्रमुख टिकाराम खड्काले पर्यावरण जोगाउने वाहनामा विभिन्न रोगहरुको सिर्जना हुँदै गएको बताए ।

खेतबारीमा उत्पादन बढाउने, नाफा मुलक व्यवसाय गर्ने उद्देश्यले विषादीको प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असरहरु देखा पर्न थालेको उनले बताए । माटोमा कुन वाली उत्पादन हुन्छ, कस्तो माटोमा कुन बालीले कति उत्पादन दिन्छ ? भन्ने विषयमा अनुसन्धान नगरी के प्रयोग गर्दा बढी उत्पादन हुन्छ र नाफा बढी कसरी हुन्छ भन्ने विषयमा केन्द्रित हुँदा अर्गानिक खाद्यान्न उत्पादन हुन छोडेको उनको भनाइ थियो । धेरै उत्पादन गरी धेरै नाफा आर्जन गर्नका लागि अन्नवाली उत्पादन गर्दा त्यसमा रासायनिक मलहरुको व्यापक प्रयोग हुने र त्यसले उपभोक्ताको स्वास्थ्यमा ठुलो असर पुर्याउँदै गएको उनले बताए । तरकारीमा अत्याधिक विषदीको प्रयोगले एक घर एक जनामा क्यानसरको जोखिम समेत बढेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सह–सचिव दिप्तीशिखा चौधरीले पत्रकारहरुका लागि यो पहिलो भएको बताइन् । यस्तो खालको तालिमले पत्रकारहरुलाई अर्गानिक तरकारी खेतीको बारेमा सरमाचार संकलन गर्न सहयोग पुग्ने बताइन् । तालिमको प्रशिक्षकमा लुम्बिनी प्रदेश कृषि मन्त्रालयका कृषि प्रचार अधिकृत अनिल कुमार बानिया र कृषि पत्रकार कृष्ण खनाल रहेका छन् । कार्यक्रमको सहजीकरण केन्द्रकी सचिव मेनका शर्माले गरेकी थिइन् ।



