विजौरी । घोराही–तुलसीपुर सडकलाई चारलेन बनाउने क्रम उत्साहजनक रुपमा चलिरहेको थियो । त्यहीँ क्रममा सडक चौडा गर्ने क्षेत्रमा रहेका सडक किनाराका रुखहरु धमाधम काट्न थालिए । रुख काटिरहँदा फोर्टिनाइन चौक पश्चिमतर्फ एउटा इतिहास बोकेको पिपलको रुख काटिदा रुखमुनी घर भएका टोप बहादुर जनैदारले ढलाइएको पिपललाई त्यो बेला अन्तिम तर्पण दिएका थिए । चारलेन सढक बनिसकेपछि फेरी त्यसकै किनारामा अर्को पिपल रोप्ने पनि उनको धोको थियो ।
रुख त हतारोमा काटिए, तर चारलेनको स्तरोन्नतिको काम भने बिचमै तुहियो । ‘न सितलता दिने पिपलनै रह्यो, नत चारलेन सडक स्तरोन्नति हुने आशानै बाँकी रह्यो, अहिले सुन्छु, काटिएका रुखहरु पनि रातारात गाएब भए रे’, फोर्टिनाइन चौक नजिक सडक किनारामै घर भएका स्थानीय टोप बहादुर जनैदारले भने । अहिले सडक यात्रुले सवारीसाधन कुर्न सितल स्थान समेत पाउन सक्ने अवस्था छैन । रुखमुनी बसेर एक झरी पानी ओत लाग्ने आधार पनि छैन । कतिपय स्थानमा त सडक किनारामा बनाइएका यात्रु प्रतिक्षालय पनि रहेनन् ।
करीब एक महिनाको बीचमा ठेकेदार कम्पनीले ती सडक किनाराका रुखहरु काटेर भ्याएको थियो । काटिएका रुखका ससाना हाँगा स्थानीयले उतिखेरै दाउराका लागि लगे, बेच्न लायक रुखहरु ठेकेदार कम्पनीले त्यो बेला दुधरास स्थित सोनापुर सिमेन्टको ¥याडमा घाटगद्धि गरेको भन्ने बुझिएको थियो । तर पछि ठेक्का विवादमा पर्दै जाँदा सोनापुर सिमेन्टले निर्माण कम्पनीबाट सिमेन्टको बिल समेत भुक्तानी नपाएपछि ती रुखहरुसँगै चारलेनका नाममा उठाइएका नदीजन्य पदार्थ समेत ताला लगायो । तर ती नदीजन्य पदार्थ र ती रुखहरु कहाँ गायब गरिए अहिले त्यसको प्रश्न नागरिकहरुले सोधिरहेका छन् । जवाफ दिने सरकारी निकायहरु यो विषयमा वेखवर छन् ।
तुलसीपुरको हात्तिखौवादेखि घोराहीको कुइरेपानीसम्मका रुखहरु कुकाठ मात्र थिएनन् । केही सालका रुखहरु पनि थिए, तुलसीपुर क्षेत्रमा । नेपाल संस्कृत विश्वविद्यालय क्षेत्रमा दर्जन बढी ठूला मसलाका रुखहरु थिए । सडक किनारामा केही सिमलका रुखहरु पनि थिए । धेरै रुखहरु वर पिपल र आपका थिए । ती रुखहरु काटिंदा दाङका दुई उपमहानगरपालिका जोड्ने घोराही तुलसीपुर सडकखण्ड उजाड भएको थियो ।
फोरलेन सडक निर्माणका नाममा काटिएका रुखको विवरण डिभिजन वन कार्यालयमा अझै बुझाइएको छैन । लमही–घोराही–तुलसीपुर योजना निर्माणको ठेक्का आजभन्दा ठीक पाँच बर्ष अघि भएको थियो । निर्माण कम्पनीले काम नगरेपछि गएको चैतमा ठेक्का तोडियो । तर त्यही योजनाका नाममा काटेका रुख कहाँ छन् ? राज्यलाई कति राजश्व आयो भन्ने कुनै हिसावकिताव राज्यका निकायसँग छैन । वन डिभिजन कार्यालय र सडक विभाग, भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर फोरलेन सडक आयोजनाको सम्झौतामा काट्न अनुमति दिएका ती एक हजार दुई सय रुखहरु कहाँ गायब गरिए त्यसको जवाफ नागरिकहरुले खोजिरहेका छन् । किनकि सितल छहारी सँगै मुलुकको लाखौं रुपैया राजश्व समेत गुमेको छ ।
तुलसीपुरको हात्तिखौवादेखि घोराहीको कुइरेपानीसम्मका रुखहरु कुकाठ मात्र थिएनन् । केही सालका रुखहरु पनि थिए, तुलसीपुर क्षेत्रमा । नेपाल संस्कृत विश्वविद्यालय क्षेत्रमा दर्जन बढी ठूला मसलाका रुखहरु थिए । सडक किनारामा केही सिमलका रुखहरु पनि थिए । धेरै रुखहरु वर पिपल र आपका थिए । ती रुखहरु काटिंदा दाङका दुई उपमहानगरपालिका जोड्ने घोराही तुलसीपुर सडकखण्ड उजाड भएको थियो ।
करीव ३१ लाख राजश्व अनुमान
यसैबीच डिभिजन वन कार्यालय घोराहीले ती काठहरुको राजश्व कम्तिमा ३१ लाख अनुमान गरेको छ । तर सो राजश्व अझै पनि परीयोजना कार्यालयले बुझाएको छैन । लमहीमा रहेको परीयोजना कार्यालयमा पटक पटक प्रमुख फेरिने कारणले राजश्व प्राप्त हुन समय लागेको डिभिजन वन कार्यालय घोराहीका प्रमुख मोहनप्रसाद श्रेष्ठले बताएका छन् । ‘परीयोजनाको ठेक्का रद्ध भैसकेको छ, अव निर्माण कम्पनीको धरौटी रकमबाट त्यो राजश्व अशुल गरिने छ’, डिभिजन वन घोराहीका प्रमुख श्रेष्ठले बताए । उनले सडक आयोजनासँग डिभिजन वन कार्यालयको सम्झौता भएकोले आयोजना कार्यालयले नै जिम्मा लिनुपर्ने उल्लेख गर्दै पटक–पटक ताकेता गरिरहेको बताए ।
कार्यालय प्रमुख परिवर्तन भइरहने अवस्था रहेछ, त्यसैले राजश्व अशुल केहि ढिला भको पनि उनको अभिव्यक्ति थियो । डिभिजन वन कार्यालयले काठ कटान भएको अवधि पुरानो भएकोले काटिएका काठ सड्ने र त्यस्तो काठ स्वीकार गर्न नसकिने भएकोले कटान भएका काठको राजश्व मूल्यांकन गरेर आयोजना कार्यालयमा पठाएको बताए । ‘हामीले काठको मूल्यांकन गरेर विवरण पठाएका छौं तर अझै राजश्व खातामा रकम जम्मा भएको छैन’– उनले भने । काठको मूल्य बराबरको राजश्व मूल्यांकन गरेर बनले रकम माग गरेको छ । पाउला त बनले रुखको राजश्व ? आम नागरिकहरुले यहि प्रश्न सोधिरहेका छन् ।
भारतको मुम्वैस्थित एक्जिम बैंकको सशर्त ऋण सहयोगमा बन्न लागेको फोरलेन सडकको जिम्मा भारतको मुम्वैकै तथ्य इन्जिनियरीङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको थियो । एक करोड २१ लाख अमेरीकि डलर बजेट अनुमान गरिएको सो परियोजना अन्तर्गत घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तिखौवासम्म कतै दुई लेन त कतै चारलेन बनाउने गरी ठेक्का सम्झौता भएको थियो । पुरानो ठेक्का तोडिएसँगै निर्माणका क्रममा सडकमा पारिएका खाल्टाखुल्टी पुरेर सडक यातायातलाई केही सहज बनाइए पनि पुनः ठेक्काको प्रक्रिया भने अझै अन्योलमा रहेको छ ।
साभारः साक्षी खबर


