यसवर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो

काठमाडौँ । यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो ।

चालु आवको धान उत्पादन पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढेको जनाइएको छ । धान उत्पादन बढे पनि धान खेती भएको जमिन भने घटेको देखिएको छ । कूल धानबाली लगाइएको क्षेत्रफल गत आवको तुलनामा शून्य दशमलव ६१ अर्थात् ८ हजार ८ सय हेक्टरले कमी आई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको मन्त्रालयले जनाएको छ ।

यसवर्ष धानबाली लगाइएको क्षेत्रफल पछिल्लो चार वर्षको औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानको उत्पादनसँगै उत्पादकत्व पनि बढेको छ । ‘धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिक टन प्रति हेक्टर पुगेको छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो ।’

चालु आवमा धान उत्पादन कोशी प्रदेशमा उच्च छ भने कर्णाली प्रदेशमा न्यून छ । उत्पादकत्वतर्फ कोशी प्रदेशमा चार दशमलव ४३ मेट्रिक टन प्रति हेक्टरसहित अग्र स्थानमा र मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिकटन प्रतिहेक्टर पुछारमा रहेको छ । विगतका वर्ष जस्तै मुख्य धानको तुलनामा चैते धानको उत्पादकत्व उच्च कायम भएको मन्त्रालयले जनाएको छ ।

सात वटै प्रदेशका कृषि मन्त्रालय, जिल्लागत रुपमा प्राप्त भएका प्रारम्भिक आँकडा र इसिमोडसँगको सहकार्यमा स्याटलाइट इमेजको प्रयोग गरी धान बालीको तथ्याङ्क निकालिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस